रेडिएशनको भट्टीभित्र: प्रविधि, प्रदूषण र मानसिक स्वास्थ्यको संकट
हाम्रो रहनसहन र एक्लिँदै गरेको जीवनले गर्दा प्रत्येक पाँचजना मध्ये एकमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या छ ! अझ शहरी जनसङ्ख्यामा त यो भयावह नै छ ! कलिलै र कच्चै उमेरमा सोसल मिडियादेखि इन्टरनेटसम्मको अनियन्त्रित पहुँच, अत्यधिक प्रयोग र दुर्व्यसनले गर्दा हुर्किँदै गरेको नयाँ पुस्ता र हाम्रो परम्परित समाजशास्त्रबीच गहिरो खाड़ल बन्दै छ । स्वास्थ्यमात्रै होइन, स्वभाव, व्यक्तित्व र पारिवारिक माधुर्यमैँ कालो बादल छ ! आकाशदेखि समुद्र र जमीनदेखि जमीनमुनिसम्म विद्युतीय र रेडियो उपकरणहरूको व्यापक सञ्जाल छ । घरभरि 'वायरलेस' उपकरणहरू छन् । सुत्ने कोठामैं तीन चारवटा चार्जर, टीभी, प्लग, टेबल-ल्याम्प, मोबाइल, घड़ीजस्ता उपकरण त छन् नै, मोडर्न बन्दै जाँदा बस्ने सोफा र सुत्ने बेड पनि रिमोट कन्ट्रोल वाला छन् । आजको पुस्ता वायरलेस हेडफोन टाउकोमा नराखी कतै हिँड्दैन । एक मिनेटमैं के नयाँ परिवर्तन हुन्छ र ? तैपनि हरेक मिनेट निरर्थक मोबाइल कोट्याउने हाम्रो संस्कार नै छ । अझ पाहुना बनेर जानेले पनि एक मिनेट नमस्ते गर्न नपाउँदै वाईफाईको पासवर्ड सोध्ने र अनि मोबाइल कोट्याउँदै आडमा बस्नेसँग कुरो गर्ने चलन छ ।…