टेडी बियर : एउटा सानो नैतिक निर्णयको विश्वव्यापी कथा
सन् १९०२ तिरको कुरा हो । त्यतिबेला अमेरिकी राष्ट्रपति थिए थियोडोर रूजवेल्ट । उनलाई सबैले माया गरेर ‘टेडी’ भनेर बोलाउँथे । उनी साहसी, स्पष्टवादी र प्रकृतिप्रेमी नेता मानिन्थे ।
एक दिन मिसिसिपी राज्यमा राजनीतिक भ्रमणका क्रममा उनलाई शिकारमा सहभागी गराइयो । राष्ट्रपति शिकार गर्न मन पराउँथे, तर उनी निर्दयी थिएनन् । उनी शिकारलाई पनि एउटा जिम्मेवारी र मर्यादाको विषय ठान्थे ।
त्यो दिन शिकार राम्रो भएन । धेरै प्रयास गर्दा पनि रूजवेल्टले कुनै जनावर देखेनन् । राष्ट्रपति शिकार खेल्न आएका छन्, तर खाली हात फर्किनु पर्नेभयो । यसले आयोजकहरूलाई असजिलो बनायो । यही दबाबमा उनका सहयोगीहरूले एउटा सानो र कमजोर कालो भालु समाते । त्यो भालुलाई रुखमा बाँधेर राष्ट्रपति रूजवेल्टलाई बोलाएर भनियो, ‘अब तपाईं शिकार गर्न सक्नुहुन्छ ।’
त्यो दृश्य देखेर राष्ट्रपति स्तब्ध भए । बाँधिएको, थाकेको र प्रतिरोध गर्न नसक्ने जनावरलाई मार्नु उनको नैतिकताले स्वीकार गर्न सकेन । ‘यो कुनै शिकार होइन । यस्तो काम म गर्न सक्दिनँ’ रूजवेल्ट भने । उनले त्यो भालुलाई मार्न अस्वीकार गरे र बरू छोडिदिन आदेश दिए ।
यो घटना सानो थियो, तर त्यसले ठूलो प्रभाव छोड्यो । केही दिनमै अमेरिकाका प्रसिद्ध कार्टुनिस्ट क्लिफर्ड बेरीमनले यस घटनालाई लिएर एउटा कार्टुन बनाए । कार्टुनमा राष्ट्रपति रूजवेल्ट दयालु भावमा उभिएका थिए, र अगाडि एउटा सानो, प्यारा भालु देखाइएको थियो । त्यो कार्टुन राष्ट्रिय पत्रिकामा छापियो र अत्यन्त लोकप्रिय बन्यो । भालु अब क्रूर जनावर होइन, दयाको प्रतीक बनेको थियो ।
त्यही कार्टुनले एउटा दम्पतीको ध्यान खिच्यो । उनीहरू थिए– मोरिस मिक्टम र उनकी श्रीमती रोज । उनीहरू न्यूयोर्कमा सानो खेलौना पसल चलाउँथे । कार्टुनबाट प्रेरित भएर रोजले कपडाबाट एउटा सानो भालु बनाइन् । नरम, गोलो र अँगालो हाल्न मिल्ने । मोरिसले त्यो भालुलाई पसलको झ्यालमा राखे र लेखे– टेडिज बियर ।
राष्ट्रपति थियोडोर रूजवेल्टको उपनामलाई जोडेर यसको नाम राखियो । तर उनीहरूले त्यसअघि राष्ट्रपति रूजवेल्टसँग अनुमति मागेका थिए । राष्ट्रपति मुस्कुराए र भने, ‘मेरो नामले खेलौना बेच्दा मलाई आपत्ति छैन ।’ त्यसपछि टेडिज बियर असाध्यै लोकप्रिय भयो । बालबालिकाले मात्रै होइन, वयस्कहरूले पनि यसमा अपनत्व देखाए । यसले केवल खेलौना होइन, भावनात्मक साथीको भूमिका लिन थाल्यो । डर लाग्दा अँगालो हाल्ने, एक्लोपनमा साथ दिने, बाल्यकालको स्मृति जोगाइदिने वस्तु बन्यो ।
जर्मनीको भालु – स्टाइफ भालुको कथा
रोचक कुरा के छ भने, त्यही समयमा जर्मनीमा पनि मार्गरेट स्टाइफ नामकी महिलाले भालु जस्तै खेलौना बनाइरहेकी थिइन् । उनका भान्जाले डिजाइन गरेको उभिएर बस्न सक्ने भालु पनि लोकप्रिय हुँदै गयो । पछि अमेरिकामा ‘टेडी बियर’ नामले चिनिएको खेलौना युरोपसम्म फैलियो र विश्वव्यापी बन्यो । तर टेडी बियरको आत्मा भने त्यही पहिलो घटनाबाट आएको हो । यही कारणले टेडी बियर केवल नरम कपडाको पुतली होइन, करुणा, संरक्षण र मानवीय मूल्यको प्रतीक बन्यो ।
पन्च – टेडी बियर भेट्टाएको सानो बाँदर
यतिबेला जापानको टोक्यो नजिक अवस्थित इचिकावा सिटी जू मा गत जुलाई एउटा सानो जापानी मकाक शिशु आफ्नै समूहको घेराभित्र एक्लै फेला पर्यो। जन्मेको केही समयमै आमाको न्यानो काखबाट टाढा हुनुपरेको त्यो नन्हा जीवलाई त्यहाँका कर्मचारीहरूले ‘पन्च’ नाम दिए।
हेरचाहकर्ताहरूको अनुमान अनुसार पहिलो पटक सन्तान जन्माएकी उसकी आमाले असह्य गर्मी र त्यसबाट उत्पन्न तनावका कारण बच्चालाई छाडेकी थिइन्। सामान्यतः नवजात मकाक शिशुहरू आमाको शरीरमा टाँसिएर सुरक्षित महसुस गर्छन्; उनीहरूको संसार नै आमाको काख र छातीको धड्कनमा सीमित हुन्छ। तर पन्चका लागि त्यो सहज आश्रय सुरुवातमै हरायो।
कर्मचारीहरूले उसलाई सान्त्वना दिन अनेक उपाय अपनाए, न्यानो कपडा, सावधानीपूर्वक हेरचाह, निरन्तर निगरानी। तर आमा बराबरको माया र अँगालो कसैले दिन सक्दैन। अन्ततः उसलाई नरम, टेडी बियरजस्तो खेलौना दिइयो। त्यो खेलौनालाई उसले अँगालो हालेर समातिरहन्छ, त्यसैलाई छातीसँग टाँसेर घेराभित्र घुमिरहन्छ, मानौँ त्यही उसको नयाँ सहारा हो, सानो संसारको नयाँ आधार।
समय बित्दै जाँदा पन्चको कथा सामाजिक सञ्जालमा फैलिएको छ । उसको मासुम अनुहार, खेलौनासँगको आत्मीयता र बिस्तारै अरू बाँदरहरूसँग घुलमिल हुँदै गरेको दृश्यले धेरैको मन छोयो। आज पन्च केवल एक जूको शिशु बाँदर मात्र होइन, कठिन सुरुवातपछि पनि अपनत्व खोज्दै अघि बढ्ने साहसको सानो तर अर्थपूर्ण प्रतीक बनेको छ।
तिम्रो टेडी बियर तिम्रो साहस र अपनत्वको प्रतीक बनेको छ।
आज कसैले टेडी बियर उपहार दिन्छ भने त्यसको अर्थ प्रेम हुन्छ । अस्पतालमा बिरामी बालकलाई टेडी बियर दिइन्छ । त्यो सान्त्वनाका लागि हो । युद्ध, विपद् वा दुःखको समयमा टेडी बियर बालबालिकाको हातमा आशाको संकेतका रूपमा देखिन्छ । यसरी, एक राष्ट्रपतिले गरेको सानो नैतिक निर्णयले संसारलाई एउटा यस्तो उपहार दियो, जुन पुस्तौंपुस्तासम्म भावनासँग बाँधिँदै आएको छ ।