सतिसाल मात्र ठिङ्ग उभिन सक्छ
अँधि र हुरी नचलेको बेलामा,
वातावरण स्तब्ध र शान्त भएको घडीमा,
एउटा नर्सकट पनि,
छाती खोलेर ठिङ्ग उभिन सक्छ।
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ !
तर मेरा मित्र,
अँधि र हुरी चलिरहेको बेलामा,
वातावरण गतिशील र अशान्त भएको घडीमा,
पहाडको चुचुरो माथि
हावाँ र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ।
४ आशाढ ०३७
[ रात्री प्रवाह – ३ ]