—डा. अरुणा उप्रेती
नागरिक दैनिकमा प्रकाशित
“डिजिटल उपकरण शिक्षाको सहायक हुन सक्छ, तर मुख्य माध्यम बन्न सक्दैन। मुख्य माध्यम त कागजी किताब, कलम र कापी नै हुनुपर्छ।”
हालै विकसित देशहरूले लिन थालेका शैक्षिक निर्णयहरूले यस भनाइलाई पुनः प्रमाणित गरिरहेका छन्। केही समयअघि सार्वजनिक एक समाचारअनुसार स्विडेन सरकारले विद्यालयहरूमा स्क्रिन (ट्याब्लेट, ल्यापटप, मोबाइल आदि) को अत्यधिक प्रयोग घटाउन र परम्परागत कागजी किताब तथा हस्तलिखित अभ्यासलाई पुनः सुदृढ गर्न करिब एक सय मिलियन युरो (झण्डै १७ अर्ब नेपाली रुपैयाँभन्दा बढी) लगानी गर्ने योजना अघि सारेको छ। डिजिटल शिक्षामा अग्रणी मानिएको देशले यस्तो निर्णय लिनु आफैँमा गम्भीर समीक्षा र अनुभवको परिणाम हो।
सन् २००९ देखि स्विडेनले विद्यालय तहमा डिजिटल उपकरणको प्रयोगलाई तीव्र रूपमा विस्तार गरेको थियो। पाठ्यपुस्तकको सट्टा ट्याब्लेट र ल्यापटपमार्फत पढाइ सञ्चालन गर्ने, लेखन अभ्यासलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने जस्ता अभ्यासहरू व्यापक रूपमा लागू गरिएका थिए। प्रारम्भिक चरणमा यसलाई आधुनिक र प्रभावकारी शिक्षाको रूपमा हेरिए पनि केही वर्षपछि यसको परिणामबारे प्रश्न उठ्न थाले।
विभिन्न अध्ययन र मूल्याङ्कनहरूले देखाएअनुसार विद्यार्थीहरूको पढेर बुझ्ने क्षमता क्रमशः कमजोर हुँदै गयो। एकाग्रता घट्नुका साथै गहिरो रूपमा सिक्ने क्षमतामा पनि ह्रास आएको पाइयो। हस्तलेखन अभ्यास घटेसँगै लेखन सीपमा गिरावट आयो र आफ्नै भाषामा स्पष्ट तथा सुसंगत रूपमा अभिव्यक्त गर्न कठिनाइ देखा पर्न थाल्यो। यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय मूल्याङ्कनहरूमा पनि देखियो, जहाँ स्विडिस विद्यार्थीहरूको प्रदर्शन अपेक्षाकृत कमजोर देखिन थाल्यो।
‘समस्या कहाँ छ?’ भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा गरिएको अध्ययनले कागजी पुस्तकबाट पढाइ गर्दा विद्यार्थीहरूले विषयवस्तु राम्रोसँग बुझ्ने, ध्यानपूर्वक अध्ययन गर्ने र सिकेको कुरा दीर्घकालसम्म स्मरणमा राख्न सक्ने तथ्य उजागर गर्यो। त्यसैगरी हस्तलेखन अभ्यासले बालबालिकाको मस्तिष्क विकासमा महत्वपूर्ण भूमिका खेल्ने तथ्य पनि पुनः पुष्टि भयो। औँलाले कलम समाएर लेख्दा मोटर सीप, स्मरणशक्ति र भाषा प्रशोधन प्रक्रिया एकसाथ सक्रिय हुन्छन्, जसले सिकाइलाई थप प्रभावकारी बनाउँछ। यसको विपरीत, डिजिटल माध्यममा आधारित सिकाइले प्रायः सतही ज्ञान प्राप्त गर्ने प्रवृत्ति बढाउने देखियो।
बाल मनोविज्ञान तथा शिक्षा विज्ञहरूले यसै सन्दर्भमा स्पष्ट रूपमा निष्कर्ष निकालेका छन् कि डिजिटल उपकरण शिक्षाको एक महत्वपूर्ण सहायक साधन हुन सक्छ, तर यसलाई शिक्षाको मुख्य माध्यम बनाउनु उपयुक्त हुँदैन। विशेष गरी आधारभूत तहमा कागजी किताब, कापी र हस्तलेखन अभ्यास नै सिकाइको मुख्य आधार रहनुपर्ने आवश्यकता औंल्याइएको छ।
यसका अतिरिक्त, अत्यधिक स्क्रिन प्रयोगले बालबालिकाको ध्यान क्षमता, धैर्यता तथा मानसिक विकासमा नकारात्मक प्रभाव पार्ने चिन्तासमेत व्यक्त गरिएको छ। विद्यालयमा डिजिटल उपकरणको प्रयोग बढेसँगै घरमा पनि स्क्रिन समय वृद्धि हुने प्रवृत्तिले समस्या झनै जटिल बन्न सक्ने देखिएको छ।
सन्तुलित शिक्षाको बाटो
यस परिप्रेक्ष्यमा स्विडेनको निर्णय डिजिटल शिक्षालाई अस्वीकार गर्ने होइन, बरु त्यसको सन्तुलित र विवेकपूर्ण प्रयोगतर्फ फर्किने प्रयास हो। आधुनिक प्रविधिको उपयोग आवश्यक भए पनि शिक्षाको आधारभूत स्वरूप—पढ्ने, बुझ्ने र लेख्ने—लाई कमजोर बनाउने गरी यसको प्रयोग हुनुहुँदैन भन्ने स्पष्ट सन्देश यसबाट प्राप्त हुन्छ।
प्रभावकारी शिक्षा प्रणालीका लागि प्रविधि र परम्परागत अभ्यासबीच सन्तुलन कायम गर्नु अपरिहार्य देखिन्छ। विशेष गरी बालबालिकाको आधारभूत सिकाइ सुदृढ गर्न कागजी किताब, कलम र कापीको भूमिका अझै पनि अपरिवर्तनीय रहेको यथार्थलाई यसले पुनः स्थापित गरेको छ।
डा. अरुणा उप्रेती
जनस्वास्थ्य विशेषज्ञ, लेखिका तथा सामाजिक अभियन्ता जो शिक्षा तथा स्वस्थ्य जनचेतनामा कलम चलाउनुहुन्छ।