नेपाली सेनाको स्खलन र राष्ट्रिय सार्वभौमिकतामाथिको संशय
नेपालको इतिहासमा कहिल्यै कसैको उपनिवेश नभएको गौरवपूर्ण विरासत बोकेको यो मुलुक आज आफ्नै आन्तरिक संरचनाहरूको असफलता र बाह्य शक्तिको चलखेलका कारण अस्तित्वको संकटमा उभिएको छ। कर्मचारीतन्त्र र अदालतप्रतिको जनविश्वास पहिले नै धराशायी भइसकेको अवस्थामा, आम नागरिकले भरोसा गर्ने अन्तिम संस्था 'नेपाली सेना' समेत विवाद र अविश्वासको घेरामा तानिनु विडम्बनापूर्ण छ। भनिन्छ, सेना कुनै पनि देशको भूगोल र जनताको अन्तिम सुरक्षा कवच हो। तर पछिल्ला घटनाक्रमहरूले सेना आफ्नो संवैधानिक र राष्ट्रिय दायित्वबाट विमुख हुँदै गएको आभास दिलाएका छन्। राजपरिवारको सुरक्षा गर्न नसकेको दागदेखि सिमा मिचिँदा टुलुटुलु हेरेर बस्नेसम्मका आरोपहरूले सेनाको 'व्यावसायिकता' माथि गम्भीर प्रश्न उठाएका छन्। अझ, सेना दिवस जस्तो गरिमामय अवसरमा विदेशी (अमेरिकी) सेनालाई जसरी अनुशासनहीन ढंगले प्रस्तुत हुन दिइयो, त्यसले नेपाली सैन्य संस्कारको धज्जी उडाएको मात्र छैन, नेपालको सुरक्षा नीति कतातिर ढल्किँदै छ भन्ने संकेत पनि गरेको छ। अमेरिकी 'इन्डो-प्यासिफिक रणनीति' (IPS) र विवादास्पद 'स्टेट पार्टनरसिप प्रोग्राम'…