विद्यार्थी मूल्यांकनमा अभिभावकको भूमिका र सातामा दुई दिन बिदा: सिकाइको नयाँ समन्वय

अभिभावक सहभागी मूल्यांकन र घरआधारित सिकाइले विद्यार्थी जिम्मेवार बन्छन्। दुई दिन बिदालाई प्रयोग गरी विद्यालय–घर सहकार्यबाट प्रभावकारी, व्यवहारिक.....

शिक्षा प्रणालीमा परिवर्तनको कुरा गर्दा प्रायः हामी पाठ्यक्रम, शिक्षक, पूर्वाधार वा प्रविधिको चर्चा गर्छौं। तर एउटा महत्वपूर्ण पक्ष, जसलाई हामीले पर्याप्त रूपमा उपयोग गर्न सकेका छैनौं, त्यो हो—अभिभावकको भूमिका। त्यसमाथि अहिले बढ्दो रूपमा छलफलमा आएको विषय हो, सातामा दुई दिन विद्यालय बिदा। धेरैले यसलाई केवल ‘बिदा बढ्यो’ भन्ने कोणबाट हेर्छन्, तर यदि यसलाई सही ढंगले व्यवस्थापन गर्न सकियो भने, यो सिकाइ र मूल्यांकन दुवैलाई थप प्रभावकारी बनाउने सुनौलो अवसर पनि बन्न सक्छ।

विद्यालयमा हुने मूल्यांकन प्रायः कक्षाभित्रको सिकाइमा केन्द्रित हुन्छ। तर विद्यार्थीको वास्तविक जीवन त घर, समुदाय र परिवेशसँग जोडिएको हुन्छ। त्यसैले, यदि मूल्यांकनको दायरा विद्यालय बाहिर पनि विस्तार गर्न सकियो भने, सिकाइ अझ व्यावहारिक, सान्दर्भिक र जीवनोपयोगी बन्न सक्छ। यही सन्दर्भमा “घरमा आधारित मूल्यांकन” र त्यसमा अभिभावकको प्रत्यक्ष सहभागिता एक गज्जबको समन्वय हुन सक्छ।

घरमा आधारित मूल्यांकनको अवधारणा

कल्पना गरौं, विद्यालयले हप्तामा दुई दिनका लागि विद्यार्थीलाई निश्चित क्रियाकलापसहितको कार्यपत्र (activity-based tasks) घरमा पठायो। यी क्रियाकलापहरू केवल कपीमा लेख्ने वा याद गर्ने खालका होइनन्, बरु घरको अवस्था र परिवेशअनुसारका सीपमूलक र व्यवहारिक कार्यहरू हुन्। जस्तै—बगैंचामा काम गर्ने, घरको सरसफाइमा सहभागी हुने, कुनै सानो घरेलु सीप सिक्ने, बृद्ध सदस्यसँग अन्तर्वार्ता लिने, वा दैनिक जीवनसँग जोडिएका गणितीय हिसाबहरू गर्ने।

अब यहाँ अभिभावकको भूमिका सुरु हुन्छ। अभिभावकले केवल ‘होमवर्क गरिस् कि गरिनस्?’ भनेर सोध्ने मात्र होइन, आफैं साक्षी बसेर, मार्गदर्शन गर्दै, कार्यको गुणस्तर हेरेर मूल्यांकन गर्ने। उनीहरूले विद्यार्थीको प्रयास, निरन्तरता, व्यवहार र सिकाइलाई नजिकबाट अवलोकन गरेर पूर्ण वा आंशिक अंक प्रदान गर्न सक्छन्। यदि यो प्रक्रिया जिम्मेवारीका साथ गरियो भने, मूल्यांकन अझ यथार्थपरक बन्न सक्छ।

हामीले अहिले विद्यालयमा Internal र External मूल्यांकनको व्यवस्था देखिरहेका छौं। त्यसैमा एउटा नयाँ आयाम थप्न सकिन्छ—“Internal Homework Evaluation”, जसमा अभिभावकद्वारा गरिएको मूल्यांकनलाई कम्तीमा १५% भार (weightage) दिइयोस्। यसले अभिभावकलाई शिक्षा प्रक्रियामा औपचारिक रूपमा सहभागी गराउँछ र विद्यार्थीलाई घरमा पनि उत्तरदायी बनाउँछ।

न्यूनतम उपलब्धि र पूरक सिकाइ

यस प्रणालीको अर्को महत्वपूर्ण पक्ष हो—न्यूनतम उपलब्धि स्तर (minimum threshold) को अवधारणा। यदि कुनै विद्यार्थीले निश्चित अंक प्राप्त गर्न सकेन भने, उसले NG (Not Graded) प्राप्त गर्छ र अर्को साता पूरक कार्य (remedial task) गरेर सुधार गर्नुपर्ने हुन्छ। यसले विद्यार्थीलाई निरन्तर सिकाइतर्फ प्रेरित गर्छ र ‘एकपटक फेल भएपछि सकियो’ भन्ने मानसिकता हटाउँछ।

मूल्यांकनका व्यवहारिक उदाहरणहरू:

• हरिले घरमा डोको बुन्ने सीप सफलतापूर्वक सिक्यो भने उसले १० अंक प्राप्त गर्न सक्छ।

• श्यामले करेसाबारीमा आलु गोड्ने काम राम्रोसँग गर्‍यो भने उसले ११ अंक पाउन सक्छ।

• तर सिता, जसलाई बगैंचामा दैनिक पानी हाल्ने जिम्मेवारी दिइएको थियो, यदि उसले सातामा एक दिन मात्र काम गरिन् भने, उनले केवल २ अंकसहित NG प्राप्त गर्न सक्छिन्। अब अर्को साता उनले त्यो कार्यलाई पूरक रूपमा पूरा गर्नुपर्नेछ र सुधारिएको प्रदर्शन देखाउनुपर्नेछ।

यसरी मूल्यांकन गर्दा, केवल नतिजा मात्र होइन, प्रक्रिया पनि महत्वपूर्ण हुन्छ। विद्यार्थीले कति प्रयास गर्‍यो, कति निरन्तरता देखायो, कति जिम्मेवारीपूर्वक काम गर्‍यो—यी सबै पक्षहरू मूल्यांकनको आधार बन्न सक्छन्। यसले सिकाइलाई अंक प्राप्त गर्ने साधनभन्दा पनि जीवन सीप विकास गर्ने माध्यम बनाउँछ। अभिभावकको दृष्टिकोणबाट हेर्दा पनि, यो प्रणाली निकै लाभदायक छ। उनीहरूले आफ्ना छोराछोरीको वास्तविक क्षमता, रुचि र कमजोरीहरू नजिकबाट बुझ्न पाउँछन्। साथै, आफ्नै संस्कार, जीवनशैली र सीपहरू बालबालिकामा हस्तान्तरण गर्ने अवसर पनि पाउँछन्। यसले परिवारभित्रको सम्बन्धलाई अझ सुदृढ बनाउँछ।

शिक्षामा “धेरै समय” खर्च गर्नु मात्र पर्याप्त हुँदैन, त्यस समयको उपयोग कति प्रभावकारी छ भन्ने कुरा अझ निर्णायक हुन्छ। नेपालमा वार्षिक रूपमा करिब २०५–२२० दिन र हप्तामा ६ दिन कक्षा सञ्चालन हुँदाहुँदै पनि अपेक्षित शैक्षिक गुणस्तर हासिल हुन नसक्नुले हाम्रो शिक्षण पद्धति, समय व्यवस्थापन र मूल्यांकन प्रणालीमा गहिरो प्रश्न उठाउँछ। “जति धेरै पढायो, उति राम्रो नतिजा आउँछ” भन्ने सोच अझै पनि हाम्रो प्रणालीमा हाबी देखिन्छ, तर अन्तर्राष्ट्रिय अभ्यासले देखाउँछ कि कम समयमै पनि विद्यार्थी केन्द्रित, व्यवहारिक र सीपमुखी शिक्षण विधिबाट उत्कृष्ट परिणाम सम्भव छ। यसले स्पष्ट गर्छ कि हाम्रो ध्यान समयको मात्रामा होइन, सिकाइको गुणस्तर, सान्दर्भिकता र प्रभावकारितामा केन्द्रित हुनुपर्छ।

यही परिवेशमा सातामा दुई दिन विद्यालय बिदालाई एउटा अवसरको रूपमा पुनःपरिभाषित गर्न सकिन्छ। यदि यस समयलाई घरमा आधारित सिकाइ, सीप विकास र अभिभावक संलग्न मूल्यांकनसँग जोड्न सकियो भने, यसले शिक्षालाई कक्षाकोठाको सीमाबाट बाहिर ल्याएर जीवनसँग जोड्न सक्छ। शिक्षकले घरको परिवेशअनुसारका क्रियाकलापहरू तयार पार्ने, अभिभावकले प्रत्यक्ष निगरानीमा कार्य गराउने र सोही आधारमा मूल्यांकन गर्ने अभ्यासले विद्यार्थीलाई जिम्मेवार, आत्मनिर्भर र व्यवहारिक बनाउँछ। साथै, यसले अभिभावकलाई पनि शिक्षाको सक्रिय साझेदार बनाउँदै विद्यालय र घरबीचको दूरी घटाउँछ। परिणामस्वरूप, सिकाइ केवल पाठ्यपुस्तकमा सीमित नरही जीवनोपयोगी सीपमा रूपान्तरण हुन्छ, जसले दीर्घकालीन रूपमा शैक्षिक गुणस्तर सुधारमा ठोस योगदान पुर्‍याउन सक्छ।

कार्यान्वयनका चुनौती र समाधान

यद्यपि, यस प्रणाली कार्यान्वयन गर्दा केही चुनौतीहरू पनि हुन सक्छन्। सबै अभिभावक समान रूपमा शिक्षित वा सचेत नहुन सक्छन्। कतिपयले अत्यधिक उदार भएर बढी अंक दिन सक्छन्, कतिपयले अत्यन्त कडाइका साथ कम अंक दिन सक्छन्। त्यसैले, विद्यालयले स्पष्ट निर्देशिका (guidelines), मूल्यांकनका मापदण्ड (rubrics) र अभिभावक अभिमुखीकरण (orientation) कार्यक्रम सञ्चालन गर्न आवश्यक हुन्छ।

शिक्षकको भूमिका पनि यहाँ महत्वपूर्ण हुन्छ। उनीहरूले घरको परिवेशअनुसार मिल्ने, सरल तर प्रभावकारी क्रियाकलापहरू डिजाइन गर्नुपर्छ। साथै, अभिभावकबाट प्राप्त मूल्यांकनलाई समेटेर समग्र प्रगति विश्लेषण गर्नुपर्ने हुन्छ। यसले शिक्षकलाई पनि विद्यार्थीको समग्र विकास बुझ्न थप मद्दत गर्छ।

सातामा दुई दिन बिदा केवल आराम गर्ने समय मात्र होइन, सिकाइलाई जीवनसँग जोड्ने अवसर पनि हुन सक्छ। यदि विद्यालय, अभिभावक र विद्यार्थीबीच सहकार्यको बलियो पुल निर्माण गर्न सकियो भने, मूल्यांकन केवल अंक दिने प्रक्रिया नभई, सिकाइलाई गहिरो बनाउने साधन बन्न सक्छ।

आजको आवश्यकता भनेको यस्तै नविन सोच र व्यवहारिक अभ्यास हो, जसले शिक्षालाई कक्षाकोठाबाट बाहिर ल्याएर जीवनसँग जोड्छ। अभिभावकको सक्रिय सहभागिता र घरमा आधारित मूल्यांकन प्रणालीले निश्चय नै विद्यार्थीको सर्वाङ्गीण विकासमा नयाँ आयाम थप्न सक्छ।

Post a Comment

Thank you for the feedback.