मेरो स्कुले जीवनमा प्रायः मैले मेरा दिदी र दाजुहरुकै पुराना पाठ्यपुस्तकहरू पढेर हुर्किएको मान्छे हुँ। नयाँ पाठ्यपुस्तक सायद मैले कक्षा ४ मा पढ्ने बेलामा मात्रै सरकारले निःशुल्क उपलब्ध गराएको थियो। पुस्तक प्राप्त गरेपछिको पहिलो काम भनेको दिदी-दाजुबाट सुनेका पाठ्यपुस्तकका कथाहरू दोहोर्याई-तेहेर्याई पढ्ने र कविताहरू लय हालेर गाउने हुन्थ्यो। कक्षा उत्तीर्ण भएको उत्साहसहितको त्यो पढाइमा सायद सबै चाखलाग्दा पाठहरू पहिले नै पढिसकिन्थ्यो र वर्षभरी तिनै पाठहरू नै फेरि फेरि पढिन्थ्यो।
तर मेरो देश, वातावरण र गणित जस्ता विषयका पुस्तकहरू किनेपछि प्लास्टिकको गाता हाल्ने नै पहिलो काम हुन्थ्यो। अङ्ग्रेजीमा चाहिँ के-के चित्रहरू रहेछन् भनेर खुब हेरिन्थ्यो। मेरो व्यक्तिगत अनुभवमा गणित चाहिँ बाध्यताले कक्षाकोठामा वा गृहकार्य गर्दा मात्रै हेरिन्थ्यो होला। सायद त्यसैले होला, स्कुले जीवनमा गणितमा उत्कृष्ट हुन सकिएन, न त अङ्ग्रेजीमै। अङ्ग्रेजी विषयमै एम.फिल. (M.Phil.) सकाएपछि चाहिँ यो नेपाली जस्तै एउटा भाषा मात्र रहेको र ज्ञानको एकमात्र स्रोत नभएको कुरा बुझियो। यो भन्दा अगाडि मेरा लागि अङ्ग्रेजीमा उत्कृष्ट हुनु नै सबैभन्दा ठुलो ज्ञानी हुनु हो जस्तै लाग्थ्यो।
कक्षा ५ देखि माथि चाहिँ अलि-अलि अतिरिक्त पुस्तकहरू पनि यदाकदा भेटिन थाले। मैले सम्झने र पढेको पहिलो साहित्यिक पुस्तक 'मुनामदन' थियो। एउटै विषयवस्तु र बिना चित्रको भएर होला वा बुझ्न अलि जोडबल लगाउनुपर्ने भएर होला, सुरुमा यो पुस्तक पढ्न खासै रुचि लागेन! कक्षा ३ मा महाकविको जीवनी पढ्दै गर्दा पढेका हरफहरू मात्रै खोजी-खोजी पढियो, जुन अहिले पनि याद छन्:
"हातका मैला सुनका थैला, के गर्नु धनले,
साग र सिस्नो खाएको बेस आनन्दी मनले!"र अर्को,
"क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन,
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन।"
बिस्तारै, पुस्तक हेर्दै र पढ्दै जाँदा विद्यालयको पुस्तकालयमा 'रातो बङ्गला' द्वारा प्रकाशित स-साना कथाका पुस्तकहरू फेला पर्न थाले। सम्झनामा 'चातुरेको चर्तिकला', 'धुमधामको घुमघाम' लगायतका पुस्तकका कथाहरू कैयौँ पटक पढियो। त्यसपछि अलि-अलि सामान्य ज्ञान पनि खोज्दै जाँदा एकदिन 'नवयुवा' भन्ने पुस्तक हात लाग्यो। त्यो पुस्तकमा भएको एउटा कथा आजसम्म पनि याद छ— खगेन्द्र सङ्ग्रौलाद्वारा लिखित 'बोक्सी आमा'। यो कथा किन पनि याद भयो भने उक्त कथामा सङ्ग्रौलाले 'ए रात्तै!' भन्ने थेगो प्रयोग गर्नुभएको थियो। सानै उमेरमा पढिएका कथाहरू भएकाले स्पष्ट याद त भएन तर मेरो पुस्तक पढाइको यात्रा भने तिनै कथाहरूबाट सुरु भएको जस्तो लाग्छ।
कक्षा ६-७ पढ्दादेखि नै अतिरिक्त पुस्तक पढ्ने बानी लागेको रहेछ क्यारे, म कक्षा ८ पुग्दा सम्म डायमण्ड शमशेरद्वारा लिखित ऐतिहासिक उपन्यासहरू— 'सेतो बाघ', 'बसन्ती', 'जङ्गबहादुर' लगायतका पुस्तकहरू पूर्ण रूपमा पढिसकेको थिएँ। मैले मात्रै होइन, विजय आचार्य, जो मभन्दा एक वर्ष जेठो तर मेरो भतिज पर्छन् (हाल अमेरिकामा छन्), उनले पनि अत्यधिक पुस्तकहरू पढ्ने गर्थे। हामी विद्यालय जीवनका दौतरी पनि हौँ र उतिबेलाका किस्साहरू अहिले पनि सम्झिएर गफिन्छौँ। विजयले त अनौठो ढङ्गले धेरै पुस्तक पढ्ने गर्थ्यो र उसले किनेका वा ल्याएका पुस्तकहरू मैले पनि पढ्ने गर्थेँ।
त्यो बेला अहिलेको जस्तो मनोरञ्जनका विभिन्न साधनहरू पनि थिएनन्, सायद त्यसैले होला हामीले पुस्तकहरू पढेको। हाम्रो बाल्यकाल कि त गाउँले खेलकुदमा बित्यो, कि कामकाज वा पढाइमा। मनोरञ्जनको साधनका रूपमा रेडियो वा क्यासेट प्लेयरहरू थिए, तैपनि सेल ब्याट्रीबाट बजाउनुपर्ने हुनाले ब्याट्री बचाउनका लागि अग्रजहरूले कमै बजाउनुहुन्थ्यो। आदरणीय देवीदत्त उपाध्याय [गोविन्द दाइ] विभिन्न खबर पत्रिकाहरू घरमा ल्याउनुहुन्थ्यो। 'मुना' बालपत्रिका, 'हिमाल', 'नेपाल' लगायतका रङ्गीन पत्रिकाहरू खुब चाख मानेर हरेक पाना पढिन्थ्यो। सायद त्यही प्रभावका कारण विजयले एकदमै धेरै पुस्तक पढ्थ्यो। अहिले पनि हाम्रो कुरा हुँदा, "मैले यो-यो पुस्तक पढिरहेको छु" भनेर सुनाउँछ र ऊ नजिकै भएको भए मैले पनि सायद ती किताबहरू पढ्ने मौका मिल्थ्यो कि! तर मैले यता पनि पढिरहेकै छु।
पछि कक्षा ९-१० पढ्ने समयमा धेरै समय विषयगत पाठ्यपुस्तकमा बित्यो, तैपनि आक्कल-झुक्कल अन्य पुस्तकहरू पढिन्थ्यो। प्लस टू पढ्ने बेला भने सायद खासै पुस्तक पढिएन। पछि फेरि पुस्तक पढ्न थाल्दा सुबिन भट्टराईको 'समर लभ' बजारमा आइसकेको थियो। उक्त पुस्तक मैले चितवन मामाघरदेखि म्याग्दी जाँदै गर्दा गाडीमा पढेको थिएँ र बाँकी घर पुगेपछि सकाएको थिएँ। उक्त पुस्तकमा भएका पात्रहरू लामो समयसम्म मेरो मस्तिष्कमा घुमिरहेका थिए। कुनै पात्रको नाम मिल्ने मान्छेहरूसँग त मलाई वास्तविक जीवनमा समेत रिस उठ्ने खालको अनौठो अनुभूति भएको थियो। त्यसपछि 'फिरफिरे', 'पल्पसा क्याफे', 'सेतो धरती' [दोस्रो पटक तर बेग्लै ढङ्गले बुझ्ने गरी] हुँदै धेरै पुस्तक पढियो। कति सुरु गरेका पुस्तक पढ्दा-पढ्दै बीचैमा छोडियो, कति अन्त्यसम्म पढियो। कति बाध्यताले पढियो त कति रहरले। बाध्यताले पढ्नुपर्ने पुस्तक औपचारिक शिक्षाका लागि थिए भने रहर त रहर नै भइहाले।
पछि मास्टर्स पढ्ने बेला मलाई पुस्तक पढ्ने जाँगर मरिसकेको थियो। एकजना कमल पौडेल भन्ने साथीले फेरि "मैले ७२ वटा किताब पढेको छु" भनेर सुनाएपछि यसो घोत्लिएँ— मैले कति पढेँ छु त? खै, थाहै भएन। उनले मलाई एउटा प्रस्ताव राखे, "तपाईँ यो पुस्तक किन्नु, म यो किन्छु, अनि साटेर पढौँ।" मैले सहर्ष स्वीकार गरेँ। उक्त पुस्तक पाउलो कोएलोको थियो, हामीले साटेर पढ्यौँ। सोही बखत पहिलो सेमेस्टरका लागि सिफारिस गरिएको 'सोफिज वर्ल्ड' (Sophie's World) नामक पुस्तक पनि चाख मानेर पढेको थिएँ। यहाँसम्मको यात्रामा प्रायः रहर र बाध्यता मिश्रित पढाइहरू भए, त्यसपछि भने मोबाइलले पुस्तक पढ्ने बानीलाई खत्तम पार्यो। बिस्तारै बौरिँदै गर्दा मेरो कोठाको पुस्तक दराजमा केही पुस्तकहरू थपिएका छन्, तर पढ्न त्यति जाँगर चल्दैन। एम.फिल. अध्ययन गर्दा र शोधपत्र तयार पार्दा विभिन्न उद्देश्यले धेरै कुरा पढियो, तर 'यही पढियो' भनेर विधा र क्षेत्रबाहेक धेरै कुरा याद राख्न सकिएन। याद नभए पनि आवश्यक पर्दा र फेरि सोही सामग्री हात लाग्दा पढेको कुरा याद आउँछ।
बिस्तारै नयाँ बालबालिकाहरूमा पुस्तक पढ्ने बानी नभएको र पढ्न नचाहने विभिन्न कारणहरूले बालबालिकाको मानसिक विकासमा ह्रास आउने कुराहरू अध्ययनले देखाउँदै छन्। यो अवस्थामा विद्यालय शिक्षामा अतिरिक्त अध्ययनका लागि के व्यवस्थापन गर्न सकिएला? अझै पनि पढ्न मन लाग्ने विद्यार्थीहरूले उनीहरूको रुचिअनुसार पुस्तकहरू पढिरहेको देखेको छु। यसबाट अझै ढिला भइनसकेको अनुभूति हुन्छ। तसर्थ, बेलैमा तयारी भयो भने बालबालिकालाई यो डिजिटल कुलतबाट बचाउने एउटा पाइला यो पनि हुन सक्छ।
अहिलेको पुस्ता पुस्तकदेखि अत्यधिक टाढा र मोबाइलदेखि अत्यन्तै नजिक छ। यो दूरीको तादम्य मिलाउन विद्यालय र अभिभावकको तर्फबाट केही सोच्ने बेला यही हो, नत्र ढिला होला कि?