पछिल्ला केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मेरो नाम जोडेर सेयर लगानीका विषयमा भइरहेका चर्चा र प्रश्नहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। विषयलाई जटिल र भ्रामक ढंगले प्रस्तुत गरिएकाले तथ्यहरू स्पष्ट पार्न यो प्रेस नोट जारी गरेको छु।
-
१. सेयर लगानी र पारदर्शिताको सम्बन्धमा:
मैले धितोपत्र बजारमा २ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको तथ्य यसअघि नै मन्त्रिपरिषद्को वेबसाइटमार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा स्पष्ट उल्लेख गरेको छु। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि सोही वर्गीकरण र कुल सम्पत्ति विवरणभित्रै समेटिएको हो। २ करोडको सम्पत्ति सार्वजनिक रूपमा घोषणा गर्ने व्यक्तिले २५ लाखको सेयर लुकाउन खोज्यो भन्नु तर्कसंगत देखिँदैन। यो लुकाइएको विषय नभई लगानीको वर्गीकरणको विषय मात्र हो। -
२. लगानीको स्रोत र बैंकिङ च्यानल:
उक्त सेयरमा गरिएको लगानी पूर्ण रूपमा बैंकिङ प्रणालीमार्फत गरिएको छ। लगानीको स्रोतका सम्बन्धमा मिति २०८०/०५/२९ को लिखित तमसुक बमोजिम ऋण (कर्जा) लिएको स्पष्ट रेकर्ड छ। बैंकमार्फत भएको कारोबार र कानुनी कागजातले यसको वैधानिकता प्रमाणित गर्दछन्। -
३. साझेदारीको भ्रम र यथार्थ:
कुनै पनि सार्वजनिक कम्पनीको सेयर खरिद गर्नु भनेको उक्त कम्पनीका हजारौँ सेयरधनीहरूसँग व्यक्तिगत साझेदारी गर्नु होइन। ती कम्पनीहरूमा प्रतिष्ठित मिडिया हाउसदेखि बैंकहरूसम्मको लगानी छ। केवल सेयरहोल्डर हुनुलाई नै 'विवादित व्यक्तिसँगको साझेदारी' का रूपमा व्याख्या गर्नु न्यायोचित हुँदैन। -
४. स्वार्थको द्वन्द्व र छानबिन प्रक्रिया:
यस विषयमा छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति शुद्धीकरण विभाग हो। उक्त निकायले आफ्नो नियमित प्रक्रिया अनुसार काम गरिरहेको छ। यदि मेरो कुनै हस्तक्षेप हुन्थ्यो भने यो प्रक्रिया अघि बढ्ने नै थिएन। म पदमा रहँदा वा नरहँदा छानबिन प्रक्रियालाई सधैँ सम्मान र सहयोग गर्नेछु।
५. निष्कर्ष
व्यापारिक लगानीमा जोखिम र भविष्यका उतारचढाव सामान्य हुन्। पछि भएका घटनालाई आधार मानी विगतको निर्णयमाथि प्रश्न उठाउनु तथ्यपरक हुँदैन। म हल्लामा होइन, प्रमाणमा विश्वास गर्दछु।
म आबद्ध रहेको दल, सहिदहरूको बलिदान र नयाँ पुस्ताको भावनाप्रति म पूर्ण रूपमा जिम्मेवार छु। पार्टीले गर्ने हरेक निर्णयको पालना गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
धन्यवाद।
..........................
(नाम)
(पद/संगठन)
मिति: २०८३/०१/०७