वासु आचार्य
मनोविद
परिचय तथा अवधारणा
हामीमध्ये धेरैले आत्म-हानि (self-harm) भन्ने शब्द सुन्दा तुरुन्तै “आत्महत्या गर्ने प्रयास” भनेर बुझ्ने गर्छौं, तर वास्तविकता त्यो भन्दा धेरै गहिरो छ। धेरैजसो अवस्थामा आत्म-हानि गर्ने व्यक्तिको उद्देश्य आत्महत्या होइन, याे त आफु भित्रको असहनीय पीडाबाट केही समयका लागि छुटकारा पाउनु हुन्छ। कहिलेकाहीँ यस्तो व्यक्ति बाहिरबाट सामान्य देखिन्छ, आफ्नो नियमित काम गर्छ, अरूसँग बोल्छ, हाँस्छ पनि तर भित्रभित्रै ऊ एउटा यस्तो भावनात्मक आँधीसँग लडिरहेको हुन्छ जसलाई उसले शब्दमा व्यक्त गर्न सक्दैन। त्यहीँबाट सुरु हुन्छ आत्म-हानिको व्यवहार। World Health Organization अनुसार आत्म-हानि बहुकारक समस्या हो। जसमा जैविक, मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक सबै पक्षहरू मिलेर काम गर्छन्। त्यसैले यो व्यवहारलाई केवल Attention Seeking (ध्यान खिच्ने प्रयास) भनेर बुझ्नु गलत हुन्छ।
Self-Harm (आत्म-हानि) के हो? आत्म-हानि भन्नाले व्यक्तिले आफूलाई जानाजानी चोट पुर्याउने व्यवहारलाई जनाउँछ। जस्तै काट्ने, पोल्ने, हिर्काउने, विष सेवन गर्ने आदि। धेरै अवस्थामा यसलाई non-suicidal self-injury (NSSI) भनिन्छ, जहाँ व्यक्ति मर्न चाहँदैन, तर भित्रको पीडा सहन नसकेर यस्तो हर्कत गर्छ। National Institute for Health and Care Excellence को guideline अनुसार self-harm लाई “intentional self-injury वा self-poisoning” को रूपमा बुझिन्छ, चाहे त्यसको उद्देश्य जे भए पनि।
आत्म-हानिको गहिरो मनोवैज्ञानिक कारणहरू
१. असहनीय भावना र Emotion Regulation को समस्या
आत्म-हानिको सबैभन्दा मुख्य र गहिरो कारणमध्ये एक हो, भावनालाई व्यवस्थापन गर्न नसक्ने अवस्था। जसलाई मनोविज्ञानमा emotion dysregulation भनिन्छ। स्वस्थ व्यक्तिमा यी भावनाहरूलाई पहिचान गर्ने, सहने र सुरक्षित तरिकाले व्यक्त गर्ने क्षमता हुन्छ। तर जब emotion regulation कमजोर हुन्छ, व्यक्ति आफ्नो भावना चिन्न सक्दैन, भावना धेरै तीव्र हुन्छ (जस्तो १०/१० स्तरको पीडा), त्यो भावना सहन सक्दैन, के गर्ने भन्ने थाहा हुँदैन, त्यस्तो अवस्थामा मनभित्र यस्तो अनुभव हुन्छ “यो पीडा म सहन सक्दिनँ, केही गर्नैपर्छ” यहीँबाट आत्म-हानि सुरु हुन सक्छ।
भावनात्मक पीडा किन यति असहनीय हुन्छ? Emotion dysregulation भएका व्यक्तिहरूमा प्रायः सानो घटना पनि ठूलो भावनात्मक असर दिन्छ, भावना लामो समयसम्म टिकिरहन्छ, दिमागले “overreact” गर्छ, शरीरमा पनि असर देखिन्छ। उदाहरणका लागि कलेजमा कसैले बेवास्ता गर्यो भने सामान्य व्यक्तिले “ठीक छ” भनेर अगाडि बढ्न सक्छ। तर emotion dysregulation भएको व्यक्तिले यसलाई “मलाई कसैले मन पराउँदैन” वा “म useless छु” भनेर गहिरो रूपमा लिन्छ।
आत्म-हानि किन “relief” जस्तो लाग्छ? जब व्यक्ति आफूलाई चोट पुर्याउँछ शारीरिक पीडाले ध्यान भावनात्मक पीडाबाट हटाउँछ, दिमागमा endorphin release हुन्छ, तब व्यक्ति “control” महसुस गर्छ। त्यसैले केही व्यक्तिले “मनको पीडा भन्दा शरीरको पीडा सजिलो लाग्यो” भन्ने अनुभव गर्छन्। तर यो relief अस्थायी हुन्छ, पछि झन् guilt र shame बढ्छ।
DBT (Dialectical Behavior Therapy) को दृष्टिकोण: DBT मा self-harm लाई मुख्य रूपमा emotion regulation failure को रूपमा बुझिन्छ। यदि बाल्यकालदेखि नै व्यक्तिको भावना बारम्बार अस्वीकार गरियो भने (जस्तो “रोएर नाटक नगर”), तब उसले आफ्नो भावना व्यवस्थापन गर्न सिक्दैन र पछि self-harm coping बनिदिन्छ। उदाहरणका लागि, एक किशोरी जसको घर र कलेजमा कुरा सुनिँदैन, उनले हात काटेपछि भन्छिन् “कम्तीमा अहिले एकछिन भएपनि मन हल्का त भयो”। यो emotion regulation को अभाव हो।
२. डिप्रेसन र भित्री निराशा
आत्म-हानिको अर्को अत्यन्त महत्वपूर्ण कारण हो डिप्रेसन (Depression) र गहिरो निराशा (Hopelessness)। डिप्रेसन भएको व्यक्तिले जीवन अर्थहीन लाग्ने, आफूलाई मूल्यहीन ठान्ने र भविष्य अन्धकार देख्ने अनुभव गर्छ। यस्तो अवस्थामा व्यक्तिको मनमा “यो पीडा कहिल्यै सकिँदैन” जस्तो विचार आउन सक्छ। तनाव भएका व्यक्तिमा दिमाग सधैं “overthinking mode” मा हुन्छ। भविष्यको डरले वर्तमानलाई असर गर्छ।
Research ले देखाएको छ कि Hopelessness self-harm र suicide risk को strongest predictor मध्ये एक हो। कल्पना गराौ एक विद्यार्थीकाे परीक्षा राम्रो भएन र उसले साेच्छ “म कहिल्यै सफल हुन सक्दिनँ।” यो आत्म-मूल्यको कमीले उसलाई आत्म-हानितर्फ धकेल्छ। Fox et al. (2015) अनुसार डिप्रेसन र भावनात्मक पीडा उच्च जोखिमका कारक हुन्।
३. बाल्यकालीन आघात (Trauma), दुर्व्यवहार र उपेक्षा
धेरै व्यक्तिको self-harm व्यवहारको जरा बचपनको अनुभवमा लुकेको हुन्छ। Physical abuse, emotional abuse, sexual abuse, र emotional neglect ले बालकको विकासमा गहिरो असर पार्छन्। परिवारबाट बारम्बार भावना अस्वीकार हुँदा बच्चाले “म मूल्यहीन छु” भन्ने negative core beliefs बनाउँछ।
John Bowlby को Attachment Theory: यदि caregiver (आमा-बुबा) neglectful वा abusive हुन्छ भने बच्चामा insecure attachment विकास हुन्छ। यस्तो व्यक्तिमा पछि emotional instability र fear of abandonment बढ्न सक्छ। Trauma भएका व्यक्तिमा self-harm कहिलेकाहीँ Numbness (शून्यता) हटाउने उपाय बन्छ— “मलाई केही महसुस नै हुँदैन, त्यसैले काटेपछि केही त feel हुन्छ”।
४. सम्बन्ध समस्या र सामाजिक पीडा
Abraham Maslow को आवश्यकता सिद्धान्त अनुसार love and belongingness मानिसको आधारभूत आवश्यकता हो। जब प्रेम सम्बन्ध टुट्नु (breakup), परिवारसँग दूरी, peer rejection वा bullying जस्ता घटना हुन्छन्, त्यसले व्यक्तिको self-worth लाई गहिरो चोट पुर्याउँछ। व्यक्तिको दिमागले “कोही पनि मलाई चाहँदैन” भन्ने अर्थ निकाल्छ। किशोरावस्थामा identity सम्बन्धबाट आउने भएकाले rejection हुँदा self-harm को जोखिम धेरै बढ्छ।
५. आवेगशीलता (Impulsivity) र Coping Skill को कमी
आवेगशीलता भन्नाले सोच्ने भन्दा पहिले नै प्रतिक्रिया दिनु हो। जब व्यक्ति अत्यधिक भावनामा हुन्छ, दिमागको भावनात्मक भाग (amygdala) सक्रिय र सोच्ने भाग (prefrontal cortex) कमजोर हुन्छ। Distress tolerance (असहज भावना सहने क्षमता) को कमीले गर्दा व्यक्तिले तुरुन्तै escape खोज्छ। DBT ले यसका लागि STOP skill, urge surfing र grounding तरिकाहरू सिकाउँछ। आवेगशील self-harm प्रायः योजनाविनाको impulse reaction हो।
६. Substance Use (रक्सी/लागूपदार्थ) र आत्म-हानि
Substance use ले निर्णय गर्ने क्षमता (judgment) कमजोर बनाउँछ र आफूलाई रोक्ने क्षमता (inhibition) घटाउँछ। यसले आवेग नियन्त्रण कमजोर पार्छ र भावनालाई झन् तीव्र बनाउँछ। Rehab setting मा relapse पछि हुने shame र guilt ले self-harm trigger गर्छ। यो combination खतरनाक छ किनभने व्यक्तिमा risk awareness घट्छ र severe injury को सम्भावना बढ्छ।
७. सांस्कृतिक दबाब, सामाजिक मान्यता र मौन पीडा
नेपाल र दक्षिण एसियाली समाजमा “अरूले के भन्छन्?” र “इज्जत जोगाउनुपर्छ” भन्ने दबाबले मानिसलाई भावना लुकाउन बाध्य बनाउँछ। यही मौन पीडा (Silent Suffering) कहिलेकाहीँ आत्म-हानिमा परिणत हुन्छ। Gender role का कारण पुरुषलाई “strong” र महिलालाई “adjust” गर्न सिकाइँदा दुवैले फरक ढंगले आत्म-हानि देखाउन सक्छन्। Social media र आधुनिक सफलताको तुलनाले पनि inadequacy बढाउँछ।
साहित्य समीक्षा (Literature Review)
| अध्ययन/लेखक | प्रमुख प्राज्ञिक निष्कर्षहरू |
|---|---|
| Fox et al. (2015) | Prior self-harm history र hopelessness बलिया जोखिम कारक हुन्। |
| Brereton & McGlinchey (2020) | आत्म-हानि एक 'maladaptive emotion regulation strategy' हो। |
| Wang et al. (2022) | Adverse childhood experiences (ACEs) र bullying ले किशोरहरूमा जोखिम बढाउँछ। |
| Yan et al. (2023) | Self-harm लाई biopsychosocial मुद्दाको रूपमा हेरिनुपर्छ। |
| NICE Guideline (2022) | Comprehensive psychosocial assessment र individualized care मा जोड। |
| Cipriano et al. (2017) | Emotional distress र trauma आत्म-हानिका प्रमुख पृष्टभूमि हुन्। |
| Hamza et al. (2015) | Impulsivity र NSSI बीच प्रत्यक्ष सह-सम्बन्ध पाइयो। |
| Uh et al. (2021) | किशोरावस्थामा आत्म-हानिका दुई फरक विकासात्मक बाटाहरू हुन्छन्। |
| Myklestad et al. (2021) | Bullying (victim वा bully) ले आत्म-हानिको जोखिम बढाउँछ। |
| Hashim et al. (2024) | South Asia मा ६१.३% केसमा मानसिक स्वास्थ्य समस्या (Psychiatric morbidity) देखिन्छ। |
| Madhok et al. (2025) | भारत/दक्षिण एसियामा पारिवारिक द्वन्द्व र सामाजिक दबाब मुख्य कारक हुन्। |
| Clapham et al. (2021) | Targeted emotion regulation थेरापीको आवश्यकता औंल्याइएको छ। |
निष्कर्ष
समग्र समीक्षा गर्दा आत्म-हानि प्रायः भावना नियमनको समस्या, डिप्रेसन, बाल्यकालीन आघात, सामाजिक-सांस्कृतिक दबाब र सम्बन्धको पीडासँग सम्बन्धित देखिन्छ। त्यसैले आत्म-हानिलाई केवल एउटा व्यवहारका रूपमा होइन, गहिरो मनोवैज्ञानिक पीडाको संकेतका रूपमा बुझ्नुपर्छ। प्रभावकारी उपचारका लागि व्यवहार होइन भावनात्मक जरा (root cause) उपचार गर्नुपर्छ। यदि हामीले सुन्ने संस्कृति बनायौं तथा judge नगरी बुझ्यौं भने त्यो नै सबैभन्दा ठूलो उपचार हुन सक्छ।
सन्दर्भसूची (References)
• Brereton, A., & McGlinchey, E. (2020). Self-harm, emotion regulation, and experiential avoidance. Archives of Suicide Research.
• Cipriano, A., Cella, S., & Cotrufo, P. (2017). Nonsuicidal self-injury: A systematic review. Frontiers in Psychology.
• Fox, K. R., et al. (2015). Meta-analysis of risk factors for nonsuicidal self-injury. Clinical Psychology Review.
• Hashim, N. I., et al. (2024). Psychiatric morbidity and self-harm in South Asia. Asian Journal of Psychiatry.
• National Institute for Health and Care Excellence. (2022). Self-harm: Assessment, management and preventing recurrence (NG225).
• Wang, Y. J., et al. (2022). Risk factors for non-suicidal self-injury in adolescents. EClinicalMedicine.
© २०२६ बासु आचार्य | सर्वाधिकार सुरक्षित