घटस्थापना र चित्रा, वैधृति योग शान्ति

दशैंको घटस्थापनामा चित्रा र वैधृति योग परेमा सन्तान र धननाश हुने मान्यता छ। त्यसैले २०८३ सालमा बिहान ११:४७ को 'अभिजित् मुहूर्त'मा साइत तोकिएको हो।

घटस्थापना र चित्रा, वैधृति योग शान्ति

दशैं अर्थात् शारदीय नवरात्रको पहिलो दिन दुर्गा पूजा गर्ने कार्यलाई घटस्थापना भनिन्छ र यो कार्य आश्विन शुक्ल प्रतिपदाको दिन गरिन्छ। आश्विन शुक्ल प्रतिपदाको दिन यदा कदा चित्रा नक्षत्र र वैधृति योग पनि पर्न सक्तछ। यसरी घटस्थापनाको दिन चित्रा नक्षत्र र वैधृतियोग पर्यो र यसमा घटस्थापना गरियो भने ठूलो अनिष्ट हुन्छ भनी शास्त्रमा बताइएको छ। शास्त्रअनुसार वैधृति योगमा घटस्थापना गरे पुत्रनाश हुन्छ र चित्रा नक्षत्रमा घटस्थापना गरे धननाश हुन्छ।

घटस्थापनाको दिन पूरापूर चित्रा नक्षत्र र वैधृति योग परेमा के गर्ने भन्ने विषयमा देवीपुराणको भार्गवार्चन दीपिका र दुर्गोत्सवमा कात्यायनको वचन जस्ता शास्त्रहरूमा उल्लेख गरिएको छ। घटस्थापनाको दिन पूरापूर चित्रा नक्षत्र र वैधृति योग परेमा सकभर यी दुवैको घटी पला बितेपछि घटस्थापना गर्नुपर्छ। यो सम्भव नभएमा चित्रा र वैधृतिको तीन चौथाइ घटी (३/४ घटी) कटाई पछिल्लो एक चौथाइ घटी (१/४ घटी)मा घटस्थापना गर्नुपर्छ। पूरा दिनभरि र पूरा रातभरि चित्रा र वैधृति योग पर्दा मत्स्यपुराणको शास्त्रीय वचनअनुसार रातमा घटस्थापना निषेध गरिएकोले समस्या जस्ताको त्यस्तै रहन्छ। यस समस्याको समाधानका लागि शास्त्रले यस्तो निर्देशन गरेको छ कि घटस्थापनाको दिन चित्रा नक्षत्र र वैधृति योग परेमा मध्यान्ह कालमा अभिजित् मुहूर्त परेको समयमा घटस्थापना गर्नु पर्छ।

वि.सं २०८३ सालको घटस्थापनाको स्थिति

वि.सं २०८३ आश्विन २५ गते आइतवार आश्विन शुक्ल प्रतिपदा तिथि परेकोले यो दिन घटस्थापना परेको छ। यसमा रातको २२:५४ बजेसम्म चित्रा नक्षत्र र रातको २२:३० बजेसम्म वैधृति योग रहेको छ। यसरी प्रातकालमा चित्रा नक्षत्र र वैधृति योग देखिएकोले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घटस्थापनाको शुभ साइत निकाल्दा मध्यान्ह काल र अभिजित् मुहूर्तको मध्य पारेर बिहान ११:४७ बजे घटस्थापनाको साइत निर्धारण गरेको छ।

सबै नवरात्रमा दुर्गा पूजा गर्दा कुन समयमा गर्ने भन्ने विषयमा विष्णुधर्मोत्तरपुराण र देवीपुराणमा शास्त्रीय वचन पाइन्छ। सूर्योदयभए देखि १० घटी अर्थात् ४ घण्टा सम्म प्रातःकाल हुन्छ। प्रातःकालमा देवीको आवाहन गर्नुपर्छ, देवीलाई प्रवेश गराउनुपर्छ र प्रतिदिन प्रातःकालमा देवीको पूजा गरी प्रातःकालमा नै देवीको विसर्जन गर्नुपर्छ।

प्रातःकालमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रको मूल मर्म र चित्रा वा वैधृति योग परेमा मध्यान्ह कालमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रको अर्को भनाइ रहेकोमा सामान्य शास्त्रभन्दा विशेष शास्त्र बलवान् हुने भएकोले चित्रा नक्षत्र र वैधृतियोग परेमा मध्यान्हकालको अभिजित् मुहूर्तमा घटस्थापना गर्नु नै शास्त्र सम्मत देखिन्छ। यसकारण नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८३ सालको घटस्थापनाको साइत निकाल्दा अभिजित् मुहूर्त र अन्य ग्रहस्थितिलाई समेत विचारगरी असोज २५ गते आइतवार बिहान ११:४७ बजे घटस्थापना गर्नु भन्ने गरेको निर्णय पूरापूर शास्त्र सम्मत देखिन्छ।

माथि उल्लेख भएका सबै शास्त्रीय वचनहरूको निष्कर्षलाई विश्लेषण र समीक्षा गर्दा मूल नक्षत्र र अश्लेषा नक्षत्रमा बालक जन्मेमा शान्ति गरे झै चित्रा र वैधृति योगको पनि शान्ति गर्ने परम्परा र शास्त्रज्ञहरूको मतलाई समेत मध्यनजर गरी शान्तिका सम्बन्धमा निम्न अनुसारको विधि प्रस्तुत गरिन्छ।

शान्ति विधि तथा प्रक्रियाहरू

१. चित्रा र वैधृति योगको शान्ति गर्नु अघि गर्नुपर्ने कर्महरू:
  1. सकभर रातो शुद्ध वस्त्र धारण गरी शुद्ध आसनमा बस्ने।
  2. आचमन गर्ने, आसनलाई शोधन गर्ने, प्राणायाम गर्ने, भगवतीलाई जल चढाई नमस्कार गर्ने।
  3. घण्ट, शङ्ख, डमरू बजाएर सेतो सर्स्यूं, चन्दन, अक्षता, फूल, जौ,तिल, चारै तिर छर्केर पूजामा विघ्नकारक भूतादिलाई अपसारण गर्ने।
  4. कर्मपात्र निर्माण गर्ने, चित्रा र वैधृतिको शान्ति पूर्वक घटस्थापना गरी देवी पूजा गर्ने अधिकार प्राप्तिका लागि प्रायश्चित्त गोदान गर्ने, प्रतिज्ञा सङ्कल्प गर्ने।
  5. ऋष्यादिन्यास, करन्यास, अङ्गन्यास गरी दुर्गा भगवतीको ध्यान गर्ने, यथाशक्ति भगवतीको मूलमन्त्र जपगर्ने, जल चढाउने र भगवतीलाई नमस्कार गर्ने।
  6. अर्घस्थापना गर्ने र शङ्ख, घण्ट, डमरूको पूजा गर्ने।
  7. दीप, कलश, गणेशको पूजा गर्ने।
२. चित्रा नक्षत्रको शान्ति विधि:
  1. ईशान कलशको बायाँ पट्टि चित्रा नक्षत्रको पूजाका लागि कलश स्थापनाको विधिले कलश स्थापना गर्ने। सो कलश माथि तामाको थालीमा श्रीखण्ड चन्दनले अष्ट दल लेखी सो थाली माथि सुनको प्रतिमालाई आगोमा तताई शुद्ध गरी गङ्गाजलले धोएर चित्रानक्षत्रको स्वामी त्वष्टाको प्रतीकको रूपमा स्थापना गर्ने। प्राण प्रतिष्ठाको विधिले चित्रा नक्षत्र र त्वष्टाको प्राणप्रतिष्ठा गर्ने।
  2. चित्रा नक्षत्रको दायाँ पट्टि सूर्यलाई “चित्रन्नदेवानामुदगात्” भन्ने मन्त्रले पूजा गर्ने र चित्रा नक्षत्रको बायाँ पट्टि वायुलाई “वायुरनिलममृतमथेदम्” भन्ने मन्त्रले पूजागर्ने। यस पछि चित्रा नक्षत्र र त्वष्टालाई आराध्य देव मानी पञ्चोपचार वा षोडशो पचारले पूजा गर्ने। त्यसपछि मन्त्र पढेर त्वष्टाको ध्यान गरी पुष्पाञ्जलि चढाउने र अर्को मन्त्रले चित्रा नक्षत्रको ध्यान गरी पुष्पाञ्जलि चढाउने।
३. वैधृतियोगको शान्ति विधि:
  1. ईशानकलशको दायाँ पट्टि वैधृतियोग र अदितिको पूजाका लागि कलशस्थापनाको विधिले तामाको कलश थापी त्यसमाथि अष्टदल लेखेको तामाको थाली राख्ने। सो थालीमाथि आगोमा तताई गंगाजलले धोएको सुनको प्रतिमा राख्ने र त्यसलाई वैधृतियोग र अदितिको प्रतिमा (मूर्ति) परिकल्पना गर्ने र प्राणप्रतिष्ठा गर्ने।
  2. अष्टदलको बीचमा रुद्रलाई, दायाँ पट्टि सूर्यलाई र उत्तर पट्टि सोमलाई आ-आफ्नु मन्त्रले पूजा गर्ने। बीचमा मृत्युञ्जयलाई पूजा गर्ने। यस पछि अदिति र वैधृति योगलाई पञ्चोपचार वा षोडशोपचारले पूजा गर्ने। मन्त्रले अदितिलाई र वैधृति योगलाई ॐ वैधृतियोगाय नमः भनी प्रणाम गरी पुष्पाञ्जलि चढाउने। यथाशक्ति गायत्री जप र मृत्युञ्जयको जप गर्ने। सकेमा पञ्चवारुणी होमपूर्वक-चित्रा, त्वष्टा अदिति र वैधृति योगलाई १०८ का दरले हवन गर्ने। गायत्री र मृत्युञ्जयलाई पनि १०८ का दरले हवन गर्ने र चित्रा र वैधृतिको शान्तिकालागि १ गोदान गर्ने।
४. माथि उल्लिखित विधि गर्न नसकेमा वैकल्पिक उपाय:
  • पहिलो विकल्प: ईशान कलशमा, चित्रा, त्वष्टा वैधृति अदिति र मृत्युञ्जयको पूजा गर्ने चित्रा र वैधृतिको शान्तिका लागि १ गोदान गर्ने।
  • दोस्रो विकल्प: यो पनि गर्न नसकेमा ईशान कलशमा चित्रा नक्षत्र, त्वष्टा देवता, वैधृति योग अदिति(देवमाता) र मृत्युञ्जयको पूजा गर्ने। चित्रा र वैधृति योगको दोष नलागोस् भनी नवदुर्गा भगवतीसँग प्रार्थना गरी नमस्कार गर्ने।

घटस्थापना र नवदुर्गा पूजा विधि

चित्रा र वैधृतिको शान्तिपछि मूल वेदीमा विधिपूर्वक घटस्थापना गरी कलशमाथि थालीमा दुर्गायन्त्र अथवा भगवतीको मूर्ति स्थापना गरी पूजा गर्ने र यवारोपण (जमारा राख्ने) गर्ने। प्रतिदिन बिहान बेलुका भगवतीको पूजा आरति जपपाठ, ध्यान आदि गर्ने। षष्ठीको दिन वेलको रुखमा नवपत्रिकाको आवाहन गर्ने, सप्तमीको दिन नवपत्रिका (फुलपाती) भित्र्याउने पूजा गर्ने। भद्रकाली र सरस्वतीको पूजा गर्ने। अष्टमीको दिन विशेषपूजा र कालरात्रि गर्ने। नवमीको दिन खड्गिनीको पूजा गर्ने र कुमारीको पूजा गर्ने। दशमीको दिन जया, विजया, अजिता, अपराजिताको पूजा गर्ने अन्त्यमा चित्रा नक्षत्र र वैधृतियोगको शान्ति समेतलाई उल्लेख गरी दुर्गा पूजन निमित्तक गोदान, पूर्णपात्र र दक्षिणा सङ्कल्प गर्ने, अभिषेक लिने, तोरण टीका जमरा जल प्रसाद लगाउने। यो वर्ष देवीसर्जनको साइत बिहान ८:४९ बजे छ र टीकाको साइत बिहान १०:२६ बजे (पश्चिम मोहडा गरी) शुभ छ।

(प्रा. श्रीकृष्ण अधिकारीद्वारा तयार पारिएको यो लेख धर्म सिन्धु, निर्णय सिन्धु, शान्तिमयूखः, सत्कर्मरत्नावली, मुहूर्तचिन्तामणि, कृत्यवाटिका, वीर मित्रोदय, पुरुषार्थ चिन्तामणि, वर्षकृत्यदीपक र नारद संहिता जस्ता ग्रन्थहरूको सहायता लिएर तयार पारिएको हो ।)

Post a Comment

Thank you for the feedback.