पाठयक्रमको परिचय
यो पाठ्यक्रम माध्यमिक तहमा शिक्षक हुन चाहने व्यक्तिहरुका लागि तयार पारिएको हो । नेपालमा विद्यालय शिक्षाको अवस्था र शिक्षण सिकाइ पद्धतिमा आफूलाई समाहित गर्न चाहने व्यक्तिहरुले शिक्षण सेवामा प्रवेश गर्नु पूर्व सञ्चालन गरिने अध्यापन अनुमति पत्रको परीक्षाको प्रयोजनका लागि यो पाठ्यक्रम तयार गरिएको छ । यसमा नेपालको शिक्षा प्रणाली, शिक्षण सिकाइमा आएका नवीनत्तम चिन्तन, बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउने विषय, विद्यालय, समुदाय सम्बन्ध, शिक्षकको पेसागत विकास, शिक्षामा गुणस्तर, शैक्षिक नेतृत्व, कक्षाकोठा व्यवस्थापन, शैक्षणिक योजना, विद्यार्थीका सहायताका क्षेत्रहरु, शिक्षण विधि तथा पद्धति, विद्यार्थीहरुको मूल्याङ्कनका विधि तथा प्रचलन, शिक्षण सिकाइमा अनुसन्धानको अभ्यास, सञ्चार तथा सूचना प्रविधिको प्रयोग र प्रविधिका समसामयिक विषयलाई आधार मानी शिक्षण सिकाइ तथा कक्षाकोठा व्यवस्थापनका क्षेत्रसँग सम्बन्धित भइ यो पाठ्यक्रम तयार गरिएको छ । यस पाठ्यक्रमले शिक्षणमा संलग्न हुन चाहने व्यक्तिलाई अध्यापन अनुमतिको परीक्षाका लागि आवश्यक तयारी गर्न मार्गनिर्देशन गर्ने अपेक्षा राखिएको छ ।
- नेपालको राष्ट्रिय शिक्षा प्रणालीका विभिन्न पक्षहरुको सैद्धान्तिक परिचय र प्रयोगको अवस्थाका विषयमा बताउन
- शिक्षामा देखिएका नवीनत्तम चिन्तन र यसमा देखापरेका मूल प्रवृत्ति एवम् विशेषताको जानकारी लिई शिक्षण सिकाइमा उपयोग गर्न,
- सिकाइको अवस्था, बालमनोविज्ञान र शिक्षा मनोविज्ञानका विभिन्न तत्वहरुको जानकारी गराउन र सिकाइमा तिनीहरुको उपयोग गर्न,
- विद्यालय र समुदायको सम्बन्ध तथा तिनीहरुको सहसम्बन्ध कायम गरी शिक्षण सिकाइमा सहजीकरण गर्ने तरिकाहरुको बताउन,
- शिक्षकको पेसागत सक्षमता र प्रभावकारी सिकाइका लागि शिक्षकले खेल्नुपर्ने भूमिकाको विवेचना गर्न सक्षम बनाउने
- शिक्षण सिकाइलाई गुणस्तरीय बनाउन योजना तथा मापदण्ड तयार गर्न,
- शैक्षिक सुशासन कायम गर्ने विषयमा शिक्षकले खेल्ने भूमिका बताउन,
- कक्षाकोठाको व्यवस्थापन गर्न, विद्यार्थीलाई सिकाइमा सहायता प्रदान गर्न र विभिन्न शिक्षण विधि तथा प्रक्रियाका आधारमा प्रभावकारी सिकाइ गर्न,
- सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ गर्न,
- शिक्षण सिकाइमा आवश्यक पर्ने बौद्धिक ज्ञान, भाषा तथा गणितीय सक्षमता र अध्ययन अनुसन्धानका निष्कर्ष तथा सुझावको उपयोग गरी शिक्षण गर्न,
- मूल्याङ्कनका विभिन्न विधि, साधन तथा उपकरणको उपयोग गरी प्रभावकारी रुपमा विद्यार्थीको मूल्याङ्कन गर्न