जान्नैपर्ने केही राजनैतिक र दार्शनिक शब्दहरुको अर्थ

राजनीतिक र दार्शनिक क्षेत्रमा प्रयोग हुने महत्वपूर्ण शब्दहरूको अर्थ, सन्दर्भ र प्रयोग सरल भाषामा बुझाउने जानकारीमूलक लेख।
राजनैतिक र दार्शनिक शब्दहरुको अर्थ
राजनीतिक र दार्शनिक पारिभाषिक शब्दहरूको बृहत् परिचय

ब्द भाषाका सार्थक एकाइ हुन्। भाषा सामाजिक एवम् मानवीय वस्तु हो। समाज विकासका क्रममा भाषाको विकास सँगसँगै ज्ञान विज्ञानका अनेक शाखा प्रशाखाहरू विकसित हुँदै आएका छन्। यस क्रममा कतिपय शब्दहरूले विशेष अर्थ वहन गर्छन्, जसलाई पारिभाषिक शब्द भनिन्छ। यस्ता शब्दहरूको अर्थ ठीक ढङ्गले बुझ्न सकिएन भने वास्तविक कुराको बोध नभई विचार निर्माण हुन सक्दैन। त्यसैले यहाँ बुझ्नै पर्ने केही राजनीतिक पारिभाषिक शब्दहरूको पूर्ण व्याख्या र उदाहरण दिइएको छ।

१. दर्शन र आधारभूत चिन्तन

दर्शन (Philosophy)

दर्शनको सामान्य अर्थ साक्षात्कार हो भने विशेष अर्थमा जीवन–जगत्लाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो। यसले संसार के हो? यसको सृष्टि र विकास कसरी हुन्छ? भन्ने ज्ञान दिन्छ।

दर्शन मूलतः दुई थरीका छन्– अध्यात्मवादी (आदर्शवादी) र भौतिकवादी। अध्यात्मवादले चेतनालाई मूल मान्छ भने भौतिकवादले पदार्थलाई पहिलो मान्छ र संसारलाई बोधगम्य र व्याख्येय मान्छ।

आदर्शवाद (Idealism)

पदार्थलाई होइन, चेतन तत्त्वलाई प्रमुख मान्ने सिद्धान्त। यो व्यवहारमा लागु हुन नसक्ने अवस्तुगत सिद्धान्त हो। 'आदर्श' प्रगतिशील र प्रतिगामी दुवै हुन्छ तर 'आदर्शवाद' प्रतिगामी मात्र हुन्छ। यसैले जर्मनीमा नाजिवाद र फासीवादलाई जन्म दिएको हो।

द्वन्द्वात्मक भौतिकवाद

पदार्थ पहिलो तत्त्व हो र यो परिवर्तनशील छ भन्ने माक्र्स–एङ्गेल्सको सिद्धान्त। यसका तीन नियम छन्: विरोधी तत्त्वहरूका बीचको एकता र सङ्घर्ष, मात्रात्मकबाट गुणात्मक परिवर्तन, र निषेधको निषेध नियम।

जडसूत्रवाद (Dogmatism)

कुनै पनि वस्तु वा चिन्तनलाई जस्ताको तस्तै स्वीकार गर्ने संकीर्ण चिन्तन। शास्त्रमा लेखिएका कुरालाई अपरिवर्तनीय मान्ने यो प्रवृत्ति द्वन्द्ववादको विरोधी हो।

२. क्रान्ति र राजनीतिक प्रणाली

क्रान्ति (Revolution)

एउटा वर्गको सत्तालाई बलात् खोसी अर्को वर्गले आफ्नो शासन कायम गर्नु। सामाजिक अर्थमा यो उत्पादनका साधनमाथि सामाजिक स्वामित्व कायम गर्नु हो। उदाहरण: रुसको अक्टुवर क्रान्ति, चिनको जनवादी क्रान्ति, अमेरिकाको स्वतन्त्रता सङ्ग्राम, फ्रान्सको राज्य क्रान्ति। नेपालको सन्दर्भमा २०६२/०६३ को आन्दोलनलाई लोकतान्त्रिक गणतन्त्रको क्रान्तिका रूपमा लिन सकिन्छ।

गणतन्त्र र जनगणतन्त्र

गणतन्त्र:

राजतन्त्रको सट्टा जनताद्वारा निर्वाचित प्रतिनिधिले शासन गर्ने प्रणाली (उदा: भारत, फ्रान्स, स्विजरल्यान्ड)।

जनगणतन्त्र:

श्रमजीवी वर्गको शासन व्यवस्था भएको जनवादी व्यवस्था (उदा: चिन, उत्तर कोरिया)। यहाँ व्यक्तिद्वारा व्यक्तिको शोषण अन्त्य हुन्छ।

समाजवाद र साम्यवाद

समाजवाद: पुँजीवादपछि आउने र सर्वहाराको सत्ता हुने व्यवस्था। यहाँ 'योग्यता अनुसारको काम र काम अनुसारको दाम' पाइन्छ।
साम्यवाद: निजी सम्पत्ति र राज्यसत्ता नै उन्मुलन भएको उच्चतम व्यवस्था। यहाँ शोषण रहित समाज र पूर्ण समानता हुन्छ।

३. सङ्गठनात्मक र कार्यगत शब्दावली

कार्यनीति र रणनीति

कार्यनीति: रणनीति प्राप्त गर्ने तत्कालीन र अस्थायी कार्यक्रम।
रणनीति: प्राप्त गरिने दीर्घकालीन र स्थायी लक्ष्य। कार्यनीति सही भएन भने रणनीति प्राप्त गर्न सकिँदैन।

जनवादी केन्द्रीयता

लेनिनवादी सङ्गठनात्मक सिद्धान्त। 'जनवाद' भनेको कार्यकर्ताले छलफल र आलोचना गर्न पाउने अधिकार हो भने 'केन्द्रीयता' भनेको माथिल्लो कमिटीको निर्देशन पालना गर्ने अनुशासन हो।

आलोचना र आत्मालोचना

आलोचना: निष्पक्ष रूपमा गुणदोषको विवेचना।
आत्मालोचना: आफ्ना गल्ती आफैले स्वीकार गरी सुध्रने प्रक्रिया। यो कम्युनिस्ट पार्टीमा अनुशासन कायम राख्न अनिवार्य मानिन्छ।

४. अवसरवाद र विचलनका रूप

अवसरवाद (Opportunism)

मौका छोपेर स्वार्थपूर्ति गर्ने सिद्धान्त। 'ताकपरे तिवारी नत्र गोतामे' यसको मूल प्रवृत्ति हो। माक्र्सवादले यसका तीन रूप बताएको छ: दक्षिणपन्थी, मध्यमपन्थी र वामपन्थी अवसरवाद।

संशोधनवाद (Revisionism)

माक्र्सवादका आधारभूत कुराहरूलाई बङ्ग्याएर पुँजीवादको सेवा गर्नु। दक्षिणपन्थी संशोधनवादले वर्ग समन्वयको कुरा गर्छ भने वामपन्थी संशोधनवादले अराजकता र आतङ्क फैलाउँछ।

उग्रवामपन्थी र दक्षिणपन्थी

उग्रवामपन्थी: परिस्थितिको विश्लेषण नगरी जबर्जस्ती सत्ता हात पार्न लाग्ने।
दक्षिणपन्थी: यथास्थितिलाई रुचाउने, क्रान्तिमा अगाडि नबढ्ने र परिवर्तनको विरोध गर्ने प्रवृत्ति।

यथास्थितिवाद

पुरानो व्यवस्थामा कुनै परिवर्तन नगरी जस्ताको तस्तै राख्न चाहने विचार। नेपालमा नेपाली कांग्रेसले यसको प्रतिनिधित्व गर्छ।

५. वर्ग, पुँजी र शोषण

शीर्षक विस्तृत व्याख्या र उदाहरण

सर्वहारा

श्रमशक्ति बाहेक केही नभएको वर्ग। यसले पुँजीपतिलाई श्रम बेचेर जीविका चलाउँछ।

दलाल पुँजीपति

बिचौलिया भएर नाफा कमाउने, कर नतिर्ने र विदेशी पुँजीपतिसँग साँठगाँठ गर्ने वर्ग।

राष्ट्रिय पुँजीपति

मुलुकभित्रै उद्योग चलाउने र राष्ट्रिय अर्थतन्त्र विकास गर्ने देशभक्त पुँजीपति।

निम्न पुँजीवाद

मजदुरभन्दा माथि तर पुँजीपतिभन्दा तलको ढुलमुले र अवसरवादी प्रवृत्ति।

सामन्तवाद

जमिनदारहरूको स्वामित्व रहने व्यवस्था। नेपालमा राजतन्त्र हटे पनि कृषिको आधुनिकीकरण नभएकाले अहिले अर्ध सामन्तवाद कायम छ।

साम्राज्यवाद र नव उपनिवेश

साम्राज्यवाद: पुँजीवादको चरम विकास भई अन्य मुलुकमाथि सैन्य वा आर्थिक नियन्त्रण गर्नु।
नव उपनिवेश: सोझै कब्जा नगरी आर्थिक र सांस्कृतिक प्रभावद्वारा अप्रत्यक्ष शोषण गर्नु (उदा: वैदेशिक सहायता र बहुराष्ट्रिय कम्पनीमार्फत हुने हस्तक्षेप)।

विस्तारवाद

आफ्नो प्रभाव छिमेकी साना मुलुकमा विस्तार गर्नु। उदाहरणका लागि: भारतीय शासकहरूले नेपालमा गर्ने राजनीतिक र आर्थिक घुसपैठ।

६. समाज र संस्कृति

वर्गसङ्घर्ष (Class Struggle)

विपरीत स्वार्थ भएका वर्गहरू बीचको निरन्तर सङ्घर्ष। मजदुर र मालिक, किसान र सामन्त बीच सधैँ खुला वा गुप्त रूपमा सङ्घर्ष हुन्छ भन्ने माक्र्सवादी मान्यता हो।

उत्पादन पद्धति

उत्पादनका साधन, उत्पादक शक्ति र उत्पादन सम्बन्धको समष्टि। यसकै आधारमा मानव समाजलाई आदिम, दास, सामन्ती, पुँजीवादी र समाजवादी युगमा बाँडिएको हो।

प्रगतिशील र प्रगतिवादी

समाजलाई प्रगतितर्फ उन्मुख बनाउने चिन्तन प्रगतिशील हो। माक्र्सवादमा आधारित भई समाज रूपान्तरणका निम्ति दिशाबोध गराउने साहित्य प्रगतिवादी साहित्य हो।

सार र रूप (Essence & Form)

वस्तुको भित्री पक्ष 'सार' हो भने बाह्य पक्ष 'रूप' हो। उदाहरणका लागि: राज्यसत्तामा वर्ग स्वार्थको रक्षा 'सार' हो भने शासन प्रणाली 'रूप' हो। सार फेरिएपछि रूप पनि फेरिन्छ।

धर्म निरपेक्षता

कुनै एउटा धर्मलाई विशेष मान्यता नदिई सबै धर्मलाई समान रूपमा लिनु। नेपालले २०६२/६३ को क्रान्तिपछि आफूलाई धर्म निरपेक्ष राज्य घोषित गरेको छ।

७. प्रमुख व्यक्तित्व र विचारधारा

कार्ल माक्र्स र माक्र्सवाद–लेनिनवाद

जर्मनीका कार्ल माक्र्स (१८१८–१८८३) द्वन्द्वात्मक भौतिकवादका प्रणेता हुन्। माक्र्स, एङ्गेल्स र पछि लेनिनले विकसित गरेका सिद्धान्तलाई माक्र्सवाद–लेनिनवाद भनिन्छ।

कमरेड र लालसलाम

कमरेड: 'कम्युन' बाट बनेको शब्द, जसले समानता र सम्मान (साथी) जनाउँछ।
लालसलाम: रातो रङ्ग क्रान्तिको प्रतीक भएकाले क्रान्तिकारीहरूले प्रयोग गर्ने अभिवादन।

राष्ट्रवाद र राष्ट्रियता

आफ्नो राष्ट्रको हितलाई सर्वोपरि मान्ने सिद्धान्त राष्ट्रवाद हो। यसमा भाषा, साहित्य, कला र संस्कृतिप्रतिको अपनत्वको भावना राष्ट्रियता हो। नेपालमा मूलतः वंशका नाताले राष्ट्रियता प्रदान गरिन्छ।

Join the conversation