व्यावसायिक अरिङ्गाल पालन, प्रति किलो ३,५०० रुपैयाँ



म्याग्दी :म्याग्दीको बेनी नगरपालिका-६, जामुना खर्कका गीता पाइजा र अशोक शाही दम्पतीले व्यावसायिक अरिङ्गाल पालन गरेर आम्दानीको नयाँ स्रोत पहिल्याएका छन्। जंगलबाट गोलासहित ल्याएर घर र पाखोबारीमा अरिङ्गाल पाल्दै उनीहरूले यसलाई संरक्षणसँगै आयआर्जनको माध्यम बनाएका हुन्।

शाही दम्पतीले मौरी पालनमा जस्तै गोला स्थानान्तरणको विधि अपनाएर यो व्यवसाय थालेका हुन्। "स्थानीय स्तरमा उपलब्ध स्रोत, साधन र सीपलाई प्रयोग गरेर बजारको उच्च माग भएको नयाँ वस्तु उत्पादन गर्ने सोचले यो व्यवसाय रोजेका हौं," उद्यमी गीता पाइजा शाहीले बताइन्। उनका अनुसार यो व्यवसायले आम्दानी मात्र नभई अरिङ्गालको संरक्षणमा पनि टेवा पुर्‍याउनेछ।

अरिङ्गाल पालनबाट राम्रो आम्दानी हुने शाही दम्पतीको अनुभव छ। एउटा गोलाबाट प्रत्येक दुई महिनामा करिब ८ किलोग्रामसम्म लार्भा उत्पादन गर्न सकिन्छ। बजारमा काँचो लार्भा प्रतिकिलोग्राम ३,५०० रुपैयाँसम्ममा र बेनीका होटलहरूमा फ्राई गरेको परिकार प्रतिप्लेट ६०० रुपैयाँमा बिक्री हुने गरेको छ।

गत वर्ष ३० किलोग्राम लार्भा बिक्री गरेका शाहीले यो वर्ष २५ वटा गोला पालेर एक क्विन्टल (१०० किलोग्राम) उत्पादन गर्ने लक्ष्य राखेका छन्।

किराफट्याङ्ग्रा र फलफूल खाने अरिङ्गाल चरणका लागि जंगल र खेतबारीमा जाने गर्दछन्। शक्तिबर्धक मानिने यसको लार्भाको माग बजारमा बढ्दो छ। यो पालन सजिलो नभए पनि यसले नयाँ अवसर सिर्जना गरेको उद्यमी अशोक शाही बताउँछन्। 

إرسال تعليق

Thank you for the feedback.

الانضمام إلى المحادثة