जहाँ बुबाप्रति आदर र सम्मानको भावना हराउँछ, त्यहाँ संस्कार र उन्नतिको जग कमजोर पर्न थाल्छ। बुबा केवल परिवारका प्रमुख मात्र होइनन्, जीवनका प्रथम शिक्षक र परिवारलाई जोड्ने आधारस्तम्भ पनि हुन्। आमाले प्रेम, करुणा र ममता प्रदान गर्नुहुन्छ भने, बुबाले अनुशासन, जिम्मेवारी र जीवनलाई सही दिशा दिने मार्गदर्शन दिनुहुन्छ। त्यसैले जब सन्तानले बुबाको वचनलाई कानमा मात्र होइन, हृदयमा राख्छ, तब उसको भविष्य बलियो जगमा टेकेर अघि बढ्न सक्षम हुन्छ।
बुबाप्रति हुने “डर” भन्ने शब्दलाई कठोर अनुशासन वा दमनको पर्यायका रूपमा लिनु अनुचित हुन्छ। यसले वास्तविकतामा बुबाको संघर्ष र त्यागलाई बुझ्दा स्वाभाविक रूपमा जन्मिने आदर, उहाँको वचनप्रति गम्भीरता, र जीवनमा अनुशासनलाई आत्मसात् गर्ने चेतनालाई जनाउँछ। बुबाले आफ्नो पसिना, श्रम र जीवनका अनेकौँ बलिदान परिवारकै उज्यालो भविष्यका लागि अर्पण गर्नु भएको सत्य जब सन्तानले बुझेका हुन्छन्, तब त्यो चेतना नै चरित्र निर्माणको दृढ आधार बन्न पुग्छ।
जुन घरमा बुबा–आमाको वचनलाई सन्तानले सम्मानका साथ हृदयमा राख्छन्, त्यहाँको वातावरण स्वाभाविक रूपमा अनुशासित हुन्छ। त्यस्ता घरका बालबालिकाले सत्य बोल्न, श्रमलाई सम्मान गर्न, अरूलाई आदर गर्न र जिम्मेवारी निर्वाह गर्न सिक्छन्। बुबाको अनुशासनले उनीहरूलाई कुनै पनि कार्य अघि बढाउनु पूर्व सोच्न बाध्य पार्छ, जसले गर्दा उनीहरू गलत बाटोबाट जोगिन्छन् र सदैव असल संस्कारको बाटोतर्फ अघि बढ्छन्।
समसामयिक परिवेशमा स्वतन्त्रताको नाममा कतिपय सन्तानले बुबा–आमाप्रति इज्जत र आदर कम गरिरहेका छन्। अभिभावकहरू आफ्नै छोराछोरीको व्यवहारका कारण अपमानित हुनुपर्ने अवस्था सिर्जना भएको उदाहरणहरू पनि देखिन्छन्। तर स्मरण रहोस्, स्वतन्त्रता भनेको मर्यादा र संस्कार भुल्ने अधिकार होइन। साँचो स्वतन्त्रता भनेको अनुशासन र मर्यादाको चौखट भित्र रहँदै आफ्नो जीवनलाई समृद्ध र सफल बनाउन सक्ने क्षमतामा निहित हुन्छ। जुन घरमा बुबाको सम्मान हराउँछ, त्यहाँ संस्कार कमजोर हुन्छ र जीवन अन्धकारतर्फ मोडिन्छ।
बुबाप्रतिको आदर र सम्मानले सन्तानलाई घमण्डी होइन, संस्कारी बनाउँछ। बुबाको अनुशासनले सन्तानलाई संकुचित होइन, जिम्मेवार बनाउँछ। यसरी प्राप्त संस्कार र जिम्मेवारी नै जीवनको अमूल्य सम्पत्ति हो, जसलाई धन–सम्पत्तिले किन्न सकिँदैन। जब समाजमा अनुशासनयुक्त, संस्कारी र जिम्मेवार पुस्ता जन्मिन्छ, त्यतिबेला मात्र त्यो समाज बलियो र समृद्ध बन्न सक्छ।
यसैले बुबाप्रति इज्जत गर्नु भनेको आफ्नै भविष्य सुरक्षित गर्नु हो। उहाँको अनुशासनलाई आत्मसात् गर्नु भनेको गलत बाटो छोडी सही बाटोतर्फ अघि बढ्नु हो। जसरी बलियो जग बिना कुनै भवन लामो समयसम्म टिक्दैन, त्यसरी नै बुबाप्रतिको सम्मान र अनुशासन बिना जीवनको उन्नति पनि टिकाउ हुँदैन। जसको घरमा आज पनि बुबाको वचनलाई सम्मानपूर्वक हृदयमा राखिन्छ, त्यहाँका सन्तान जीवनमा असफल हुँदैनन्। उनीहरूको सफलता व्यक्तिगत मात्र नभई समाज र राष्ट्रकै लागि प्रेरणाको श्रोत बन्न पुग्छ।