राष्ट्रिय स्वतन्त्र पार्टीको नागरिक करार
नेपालका नागरिक मेची-महाकाली ६७४३ वडा बस्ने सबैसँग, नेपाल आमाका सन्तति काठमाडौँ जिल्ला, वडा न. १६ घण्टी घर बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम सदस्यहरूले २०८२ साल फाल्गुन महिना २१ गतेका दिन तपाईं नागरिकहरूका घर दैलोमा आई, विगतमा लोकतान्त्रिक अधिकारका लागि भएका संघर्षहरूदेखि सुशासनको पक्षमा भएको जेन-जी आन्दोलनको मर्मलाई आत्मसात गर्दै, तपाईंहरूको अमूल्य 'मत' रुपी लगानी माग्दा, तपाईं नागरिकहरूले हामीलाई विश्वास गरी तपसिलको सोचलाई लगानी स्वरूप प्रदान गर्नुभएमा, सो बापत हामी तपाईंहरूलाई बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय सहितको उदार अर्थनीति, सुधारिएको प्रदेश संरचना, समन्वयात्मक समावेशीता, सनातन सभ्यताको सम्मान, धार्मिक-सांस्कृतिक विविधताको संरक्षण, सन्तुलित परराष्ट्र सम्बन्ध, डायस्पोराको सामर्थ्य र 'सौम्य शक्ति'को विस्तार गरी सार्वभैमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्दै निम्न बमोजिमको प्रतिफल स्वरूप 'समुन्नति' पाँच वर्षभित्र भुक्तान गर्ने सर्तमा यो नागरिक करार मञ्जुर गर्दछौँ:
| प्राथमिकता | आजको अवस्था | हाम्रो लक्ष्य |
|---|---|---|
| १. सदाचार र असल शासन | राज्य संरचनाको दलीय दोहन, प्रक्रिया-केन्द्रित भ्रष्टाचार र लाइसेन्स राज। सामान्य सेवा लिन समेत बिचौलियाको शरण पर्न बाध्य। |
नीति, आचरण र संस्थागत सुधारका लागि 'भ्रष्टाचार विरोधी महाअभियान' मार्फत विश्वसनीय, सदाचारी राज्य निर्माण गर्दै, सरकारी सेवाहरूको सर्वव्यापी डिजिटल डेलीभरी (लाइन होइन अनलाइन) सहित ट्रान्सपेरेन्सी इ. को भ्रष्टाचार सूचकाङ्कमा भारी सुधार। दलीयकरणको अन्त्य र २०४६ देखिकै सम्पत्ति छानविन गर्न उच्चायोग गठन। |
| २. मध्यम वर्गीय विस्तार | न्यून प्रतिव्यक्ति आय; गुणस्तरहीन र महँगो स्वास्थ्य सेवा; प्रतिफलविहिन शिक्षा; अपर्याप्त आधुनिक वित्तीय समावेशीता। |
नेपाललाई 'सम्मानजनक मध्यम-आय भएको मुलुक' बनाउन औसत आर्थिक वृद्धि दर वार्षिक ७ प्रतिशत (स्थिर मूल्यमा) कायम गर्दै पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा ३००० डलर र अर्थतन्त्रको आकारको लक्ष्य १०० अर्ब डलर (प्रचलित मूल्यमा)। शत प्रतिशत बीमा गरिएको गुणस्तरीय स्वास्थ्य सेवा। सार्वजनिक शिक्षाको आमूल सुधार। जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित 'एकीकृत सामाजिक सुरक्षा' को ग्यारेन्टी। आधुनिक बैंकिङसहित वित्तीय सेवाहरुमा सबै नागरिकको पहुँच लगायत सख्त नियमनभित्रको सहकारी र लघु वित्त, मिटर ब्याज शोषणको अन्त्य। |
| ३. काम, काम, काम | अनौपचारिक, न्यून ज्याला र उच्च बेरोजगारी; दैनिक ३३०० जना भन्दा धेरै युवा विदेश पलायन। |
बाध्यात्मक पलायन घटाउन औपचारिक, सम्मानित, सुरक्षित र समावेशी १२ लाख नयाँ रोजगारी सिर्जना। प्राथमिकताका क्षेत्र: आइटी, निर्माण, पर्यटन, कृषि, खनिज, उद्योग र सेवा व्यापार। |
| ४. कनेक्टिभिटी | भर पर्न नसकिने, अपर्याप्त एवं असुरक्षित सडक, हवाई, ऊर्जा र डिजिटल सञ्जाल। |
प्रतिस्पर्धी अर्थतन्त्रका लागि गुणस्तरीय सडक र हवाई सञ्जाल, भरोसायोग्य ऊर्जा ग्रीड र सबै बस्तीमा तीव्र गतिको सुलभ इन्टरनेट विस्तार: १५ हजार मेगावाट विद्युत् जडित क्षमता, ३० हजार कि.मि. राष्ट्रिय राजमार्ग निर्माण। १० वटा राष्ट्रिय महत्वका 'सिग्नेचर आयोजना' सम्पन्न। |
| ५. प्रवास | विश्वव्यापी नेपाली मानव पुँजीको खण्डित उपयोग; प्रवासी नेपालीको मताधिकार शून्य; गैर-आवासीय नागरिकताको फितलो कार्यान्वयन। |
विदेशमा बस्ने नेपालीहरूलाई अनलाइन मताधिकार; वंशजको नागरिकताको निरन्तरता; सार्वभौम डायस्पोरा फण्डको कार्यान्वयन; सुरक्षित लगानी र सम्मानित देश फिर्तीको वातावरण; मर्यादित वैदेशिक रोजगारी। |
इति संवत् २०८२ साल फाल्गुन महिना २१ गते रोज ५ ... शुभम्।
..........................................
२०७९
केन्द्रीय कार्यालय
काठमाडौँ
..........................................
राष्ट्रिय स्वतन्त्र पार्टी