प्रयोशाला

नेपाल–भारत सम्बन्धलाई मसिनो गरी केलाइएको किताब
‘प्रयोगशाला’ नेपाली सङ्क्रमण दिल्ली, दरबार र माओवादी नामक पुस्तक सुधीर शर्माद्वारा लिखित फाईनप्रिन्ट काठमाडौंद्वारा प्रकाशित २०७१ भाद्रमा पाठक माझ ल्याइएको ३९० पृष्ठमा समेटिएको गैर आख्यान कृति हो । प्रस्तुत पुस्तक कन्फ्लीक्ट एप्रोच र परनिर्भरताको सामाजिक सिद्धान्त अन्तरगत लेखिएको पाइन्छ ।

यसमा विषय सूची अन्तरगत एउटा सपनाको अन्त्य, आरम्भ, उत्कर्ष, अवतरण र नियती रहेका छन् । “एउटा सपनाको अन्त्य” शीर्षक बाहेक अन्य सबै शीर्षक उपशीर्षकमा विभाजित छन् । प्रयोगशाला “एउटा सपनाको अन्त्य” शीर्षकबाट सुरु हुन्छ भुपी शेरचनको “घुम्ने मेच माथि अन्धो मान्छे” कविता सङ्ग्रहको एउटा कविता प्रेषित गर्दै । र, समाप्त हुन्छ ‘नियती’ शीर्षकको उपशीर्षक ‘नबदलिएको छिमेकी’ अन्तरगत पृष्ठ ३९० मा एउटा अन्तिम मिठो सुझाव वाक्यसहित “दिल्लीले नेपाल नीति समीक्षा गर्ने हो भने परिमार्जन गर्नुपर्ने मुख्य विषय नै यहि
हो ।”

पृष्ठ १ मै लेखक शर्माले भारतको रिसर्च एण्ड एनालाइसिस् विङ्ग “रअ” को तत्कालिन नेपाल स्टेशन प्रमुख पिटर जेपी हनामनको चर्चा गरेका छन् । यसले के पनि सङ्केत गर्छ भने कतै किताब “र” कै वरिपरि त घुमेको छैन ? निश्चय पनि प्रयोगशाला नेपालका तात्कालिन माओवादी, दरबार, भारत, र उसको जासुसी संयन्त्रहरू क्रमश ईन्टेलिजेन्स ब्युरो र रिसर्च एण्ड एनालाइसिस विङ्गका सम्बन्ध, उतारचढाव, उत्कर्ष लगायतका विषयमा लेखिएको अद्भूत रोमाञ्चक पुस्तक हो । यति तथ्यपरक ढङ्गले आजसम्म कुनै पनि नेपाली लेखकले राजनीति र कुटनीति लगायतका विषयवस्तु समेटेर लेखेको पाइँदैन । प्रयोगशालामा उल्लेखित एउटा रोचक कुटनीतिक प्रसङ्ग म यहाँ कोट्याउन चाहन्छु ।

“एउटा सपनाको अन्त्य” शीर्षक अन्तरगत पृष्ठ ९ बाट झिकिएको प्रसङ्ग हो यो । “जयन्तजीले आउनासाथ सोध्नुभो— “तपाईँले त्यसो गर्नु हुन्छ भनेर त मैले सोचेकै थिइनँ ।” मलाई अचम्म लाग्यो । अनि भनेँ— ‘तपाईँको कर्मचारीले किन त्यस्तो बोलेको त ? हाम्रो देशका आन्तरिक मामिलामा त्यसरी बोल्न पाईन्छ ?’ यो वाकयुद्ध हो तात्कालिन भारतिय राजदुत जयन्त र सुशिल कोईराला बिचको । सुशील कोइरालाकै भनाई राखेर प्रस्तुत गर्छन् लेखक शर्मा ।

पहिलो संविधानसभाले २०६९ जेष्ठ १४ को अबेला रातिसम्म किन संविधान जारी गर्न सकेन भन्ने कारणको व्याख्या लेखक शर्मा पृष्ठ १७ मा यसो गरि गर्छन् । “तराईको विशाल भुखण्डमा एउटा वा दुईवटा मात्र प्रदेश बन्दा र पहाड हिमालमा चाहिँ थुप्रै स–साना प्रदेश अस्तित्वमा आउँदा नेपालको केन्द्रिय सत्तामा निर्णायक हैसियत आफूसँग सिमाना जोडिएको मधेश प्रदेशको हुने दिल्लीले देख्यो ।”नेपालको नीति निर्माण गर्ने तह मध्य पहाडी क्षेत्रबाट स्थानान्तरित हुँदै मधेश प्रदेश बन्नासाथ त्यता सर्ने दिल्लीको बुझाई रहेको र त्यसमा भारतले खेल्ने निष्कर्ष लेखकले निकालेका छन् । यस अध्यायमा संविधानसभाको अन्त्य कसरी भयो ? यसका पर्दापछाडिका पात्रहरूको सबिस्तार वर्णन गरिएको छ ।

दुई अस्त्र उपशीर्षक अन्तरगत माओवादी नेताहरूको पृष्ठभूमि केलाइएको छ । यस शीर्षक अन्तरगत जनयुद्ध अघिको वातावरण र कारक तत्वको विश्लेषण गरिएको छ । …“प्रचण्ड राप्ती पहाडलाई विद्रोहको केन्द्र बनाउन चाहन्थे ।” पृष्ठ २८ मा उल्लेख छ ।दुनै द्वन्द्वबारे पृष्ठ ५० मा उल्लेख गरिएको छ । “सैनिक कारवाही गर्न नसकेपछि प्रधान मन्त्री कोईरालाले प्रहरीमै आधारित अल्पकालिन सुरक्षा व्यवस्था मिलाए ।”

शाही सहकार्य उपशीर्षक अन्तरगत माओवादी तथा दरबारको सम्बन्धको चर्चा गरिएको छ । यसमा धिरेन्द्र शाह दरबारको प्रतिनिधी बनेर माओवादीसँग वार्तारत थिए भन्ने उल्लेख छ । पृष्ठ ७० मा ‘नभएको कु’ र विरेन्द्रको वंशनाश उपशीर्षक अन्तरगत २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्डको विश्लेषण गरिएको छ । “अरु त अरु तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले समेत ठूलो शङ्का प्रकट हत्याकाण्डप्रति ।” पृष्ठ ७१ मा तात्कालिन प्रधानमन्त्रीले दरबार हत्याकाण्डलाई आफूले ग्य्रान्ड डिजाइनको एक हिस्सा मानेका छन् ।

उत्कर्ष शीर्षक अन्तरगत “गद्दीमा ज्ञानेन्द्र, वार्ता र युद्ध” उपशीर्षक राखेर लेखकले पृष्ठ ९१ मा राजा ज्ञानेन्द्र र तात्कालिन प्रम कोईरालाको वाकयुद्धको चर्चा गरेका छन् । “पीएम, तपाईलाई त जनताले भ्रष्टाचारी पो भन्दा रहेछन् ।” झनक्क रिसाउँदै कोईरालाले जवाफ फर्काए, “सरकार, मेरो बारेमा मात्र के ? राजदरबार हत्याकाण्डको बारेमा जनताले सरकारलाई के भन्छन्, म भन्दै हिँडु ? धेरै मानिसले मसँग भनेका छन् दरबार हत्याकाण्डमा सरकारको हात छ ।” ‘भारतिय छहारी’ उपशीर्षक अन्तरगत माओवादी नेताहरूको भारत प्रवासका बारे पृष्ठ १०१ मा चर्चा गरिएको छ । सिलिगुडी, दिल्ली, गाजियावाद, नोएडा, मुम्बई, भोपाल, पन्जाब, चेन्नाई, देहरादुन आदि तात्कालिन माओवादी नेताहरूको सेल्टर रहेको लेखकले चर्चा गरेका छन् ।

नारायणहिटीमा मध्यरात उपशीर्षक अन्तरगत पृष्ठ १२० मा २०५९ जेष्ठ ८ गते तात्कालिन प्रतिनिधीसभा भङ्ग गरिएको घटना लेखक रोचक पाराले लेख्छन् । यसैगरी यस अध्यायमा कृष्ण सेनको क्रुर हत्याको बारेमा पनि लेखिएको छ । दोहोरो कुटनीति उपशीर्षक अन्तरगत दिल्लीको नेपालका माओवादीसँगको छद्म सम्बन्धका बारेमा चर्चा गरिएको छ, पृष्ठ १२७ मा । यस अध्याय अन्तरगत भारतियहरूसँग सम्बन्ध सुधार गर्न प्रचण्ड र बाबुराम बिच लामो सल्लाह भएको र दिल्लीको जेएनयूका प्राध्यापक एस.डि. मुनीको बाबुराम भट्टराईसँग पुरानो सम्बन्ध रहेको र उनै मार्पmत् तात्कालिन भारतिय प्रधानमन्त्री अटल विहारी वाजपेयीलाई संयुक्त हस्ताक्षर सहितको पत्र पठाइएको चर्चा गरिएको छ । दोहोरो कुटनीति भूमिकामा रहेका प्रम वाजपेयीको पृष्ठ १३१ र १३२ मा उल्लेख गरिएको नेपालगन्जमा भएको अन्तरवार्ताबाट स्पष्ट हुन्छ ।
राजासँग भेट भएन उपशीर्षक अन्तरगत हापुरे हिंसा, थापाको सत्तारोहण आदिको चर्चा गरिएको छ पृष्ठ १३७ र १४० मा ।

अप्रत्याशित धरपकड उपशीर्षक अन्तरगत पृष्ठ १४४ मा सिपी गजुरेलको गिरफ्तारीको चर्चा गरिएको छ । त्यस्तै “र” ले राष्ट्रिय अनुसन्धान विभागलाई नसघाएको चर्चा लेखकले पृष्ठ १४५ र १४६ मा गरेका छन् ।

कामरेडलाई कारवाही उपशीर्षकमा लेखक शर्माले प्रचण्डको जन्मदिनको चर्चा गरेका छन् जहाँ बादल ह्विस्की पिएको झोकमा प्रचण्डसँग जङ्गिन थाले एउटा घरायसी निहुँलाई लिएर । पृष्ठ १६० मा शर्मा लेख्छन्, “२०५३ चैत्रमा जब बादल र अर्की नेतृ पम्फा भुसाल ‘पूजा’ बिच यौन सम्बन्ध रहेको विषय पार्टीभित्र औपचारिक जानकारीमा आयो, बादललाई पम्फाबाट छुटाएर नैनकलासँगै बसाउन अध्यक्ष पत्नीले महत्वपूर्ण भूमिका खेलेकी थिईन् ।”

त्यसैगरी माघ १९ को मोड उपशीर्षक अन्तरगत बाबुराम, हिसिला, दिनानाथ शर्मा रोल्पाको मिरुल गाउँमा बन्दि बनाइएको बारे पृष्ठ १७२ मा चर्चा गरिएको छ । त्यस्तै बाबुराम र प्रचण्डको प्रेम र घृणाको सम्बन्ध पनि पृष्ठ १७३ र १७४ मा केलाइएको छ ।

लेखक शर्माले निर्णायक फाटो उपशीर्षक अन्तरगत पृष्ठ १९७ मा दिल्ली र दरबारको सम्बन्ध चीनलाई सार्कमा ल्याउने प्रस्ताव दिल्लीले नमान्नु र अफगानिस्तानलाई सार्क सदस्य बनाउने दिल्लीको प्रस्ताव नेपालले नमान्नु रहेको चर्चा गरेका छन् ।दोस्रो दिल्ली सम्झौता अन्तरगत चुनवाङ्को दिशा निर्देश रोल्पा सम्झौता १२ बुँदे सहकार्य र संविधानसभाको साझामार्गको चर्चा गरेका छन् ।

देखिएका र नदेखिएका पात्र उपशीर्षक अन्तरगत माओवादी र दिल्लीको सम्बन्ध विस्तारको लागि सहयोगीको भूमिका खेल्ने तथा १२ बुँदे सम्झौताका लागि भूमिका निभाउने पात्रहरूको चर्चा गरिएको छ । “र” का पूर्व प्रमुख पि.के हर्मिज थाराकन, भारतिय पूर्व प्रम मनमोहन सिंह, भारतिय माक्र्सवादी नेता प्रकाश करात र सिताराम यचुरी राष्ट्रवादी काँग्रेसका डिपी त्रिपाठी, प्राध्यापक एस.डि. मुनी, तात्कालिन विदेश सचिव श्याम शरण, सुरजित सिंह, वि.पि सिंह, चन्द्रशेखर, आई.के गुजराल, दिग्विजय सिंह लगायतका पात्रहरूको यस अध्यायमा चर्चा गरिएको छ ।यस अध्यायमा लेखकले भारतिय संस्थापन पक्षले आफ्नै स्वार्थवश सात दल र माओवादी बिच सहकार्यको सहजिकरण गरिदिए भन्ने चर्चा पृष्ठ २२५ मा गरेका छन् । यी स्वार्थहरू यस प्रकार छन् । पहिलो, राजा ज्ञानेन्द्रलाई तह लगाउने । यस अन्तर्गत दुई धारको व्याख्या गरिएको छ । एउटा पक्ष बहुदलिय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको दुई खम्बे नीति नत्यागीकन दरबारलाई पाठ पढाउनु पर्छ भन्ने पक्षमा थियो भने अर्को चाहिँ दरबार मुख्य रूपमा भारत विरोधी तत्वको केन्द्रबिन्दु रहेकोले त्यसलाई मासेर गणतन्त्र ल्याउनुपर्छ भन्ने पक्षमा थियो ।

दोस्रो, सशस्त्र सङ्घर्ष गरिरहेको माओवादीलाई मूलधारमा ल्याउनु पनि सात दलसँग सहकार्य अनिवार्य थियो । तेस्रो, छिमेकी मुलुकमा शान्ति स्थापना भए भारतले अन्तरराष्ट्रिय जगतमा त्यसको जस लिन पाउँथ्यो । चौथो, नेपालमा आफ्नो सहयोगमा राजनीतिक परिवर्तन भएपछि आफ्नो आर्थिक एवम् सुरक्षा स्वार्थ पुरा गर्न सकियोस् । त्यस्तै पृष्ठ २२७ मा बसन्त विद्रोहको चर्चा गरिएको छ । शर्मा पृष्ठ २३६ मा अगाडि लेख्छन्, “काँग्रेस – एमाले नेताहरूकै सल्लाहमा तयार पारिएको र पटक पटक संशोधन गरिएको त्यो घोषणाको मस्यौदा कोईराला निवास र एमाले मुख्यालयमा ओसारपसार गर्न राजाका सचिव पशुपतिभक्त महर्जन आफैं लागि परेका थिए ।”

सङ्क्रमणकालिन दाउपेच अध्याय अन्तरगत अप्रिल थेसिस, नेपाली म्याग्नाकार्टा, बालुवाटार सम्झौता र उहापोह, शिविरमा लडाकु, दिल्लीमा स्वागत, भारतप्रति अनुदार, राष्ट्रवादको नारा, गणतन्त्रतर्पm पहिलो पाइलामा विभाजित उपशीर्षक दिएर लेखिएको छ । “तर त्यसै बिच एउटा ठूला घटना भयो मुलुकको दक्षिणी मैदानी ईलाकामा, जसले राष्ट्रिय राजनीतिलाई नै नयाँ मोडतर्फ हुत्यायो ।” पृष्ठ २५१ मा मधेश विस्फोटको चर्चा गरिएको छ । “भारतीय विस्तारवाद यसरी आयो कि, ‘तँपाईँ हामी त भाइ–भाइ हौँ’ भन्दै मधेश पस्यो र फुटाउन खोज्यो ।” प्रचण्डको भनाई पृष्ठ २५६ मा राख्छन् लेखक शर्मा । “उसले (भारतले) मधेशमा करोडौँ लगानी गरेको छ ….।” यसै अध्यायमा फोरमको उदय, पहिलो मधेश आन्दोलन, गौर पटनामा सङ्कट, दोस्रो मधेश आन्दोलनमा चर्चा गरिएको छ ।

एक वर्षको अन्तरालमा भएको दुईटा मधेश आन्दोलनले चारवटा महत्वपूर्ण परिणाम दिएको शर्मा लेख्छन् । पहिलो, मधेशी समुदायले संवैधानिक रूपमै पहिचान पाए । दोस्रो, मधेशी समुदायको राजनैतिक प्रतिनिधीत्वमा बढोत्तरी भयो । तेस्रो उपलब्धी सङ्घियताको प्राप्ती थियो, जुन मधेश आन्दोलनकै कारण तत्काल संविधानमा सुनिश्चित हुन सक्यो । चौथो, मधेश आन्दोलनको अवतरणले मुलुकमा संविधानसभा निर्वाचनको ढोका खोल्यो ।

किस्ताबन्दीमा गणतन्त्र अध्याय अन्तरगत शर्मा लेख्छन् । बैठकको अध्यक्षता गरिरहेको काँग्रेस नेता के.बी गुरुङले घोषणा गरे ः ‘नेपालको अन्तरिम संविधान— २०६३ को धारा १५९ बमोजिम गणतन्त्र कार्यान्वयन सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषण गर्दछु ।’
सत्तारोहणसँगै संशय अध्याय अन्तरगत संविधानसभा निर्वाचन परिणाम, प्रचण्ड प्रधानमन्त्रीमा नियुक्ति भएको, प्रचण्डलाई भारतभ्रमणको निम्तो, प्रचण्ड चिन भ्रमणमा गएको, प्रधानसेनापति प्रकरण, प्रचण्डको प्रधानमन्त्री पदबाट बहिर्गमन आदि रोचक पाराले वर्णन गरेका छन् लेखक शर्माले ।

भारतविरुद्ध धावा, सँगै वार्ता अध्याय अन्तरगत तात्कालिन माओवादी र भारतिय गुप्तचर निकाय “र” को सम्बन्ध र वार्ताका बारेमा केही लेखेका छन् पृष्ठ ३०६ मा लेखक शर्माले । “बेलायती राजपरिवार बस्ने बकिङ्घम प्यालेस नजिक रहेको चारतारे होटल क्राउन प्लाजामा प्रचण्ड र माथुर बिच पहिलो पटक कुराकानी भयो ।” (पृष्ठ ३०७) ।

आफैं भित्र आँधिबेहरी अध्याय अन्तरगत प्रचण्ड, बाबुराम र किरणको मतभेद आदि उल्लेख गरिएको छ । धोबिघाट गठबन्धन, मिसन मलेसिया आदि यस अध्यायमा पढन सकिन्छ

लालध्वज अवतार अध्याय अन्तरगत बाबुरामको सिंहदरबार प्रवेशको चर्चा गरिएको छ (पृष्ठ ३४०) । यस अन्तरगत मुस्ताङ जिप प्रकरण, माओवादी लडाकुको निःशस्त्रीकरण र समायोजन, शान्ति प्रक्रियाको समाप्ती, पार्टी विभाजन, असन्तुलित कुटनीति विषयको चर्चा गरिएको छ ।
त्यसैगरी गैरदलिय प्रयोग अध्याय अन्तरगत पृष्ठ ३५३ मा फेरी “र” को चर्चा गरेका छन् । ‘र’ प्रमुख संजिव त्रिपाठी र स्पेशल सेक्रेटरी शशीभुषण सिंहले २०६९ मार्ग २५ मा प्र.म. बाबुरामलाई बालुवाटारमा भेटेका चर्चा गरिएको छ ।

त्यसैगरि पृष्ठ ३६३ मा गणतान्त्रिक प्रस्थान उपशीर्षक अन्तरगत राजा ज्ञानेन्द्रको गलत आकलनको चर्चा गरेका छन् । “अब नेपालमा दुई वादी मात्र छन्– आतङ्कवादी र शान्तिवादी” (पृष्ठ ३६२) । बदलिएको विद्रोही अध्याय अन्तरगत चर्चा गरिएको छ । माओवादीहरू झन्डै त्यही ठाऊँमा पुगे जसविरुद्ध उनीहरूले हतियार उठाएका थिए । आम जनताको र कार्यकर्ताको जीवनस्तर फेरिएन तर अधिकांश नेताचाहिँ सम्भ्रान्त सरह देखिन थाले । उच्च जीवनशैली, रहनसहन, घर, गाडी, विलासिता, आर्थिक कारोवार, बिचौलियाहरूको सङ्गत आदिले गर्दा नवधनाढ्य वर्ग झैं बन्न पुगे ।

“नबदलिएको छिमेकी” उपशीर्षक अन्तरगत पृष्ठ ३८० मा लेखक शर्मा लेख्छन्औपचारिक कुटनीतिक भाषामा जे भनिए पनि नेपालमा लोकतन्त्र संविधान निर्माण, कुनै पार्टी वा सरकार विशेष भारतको प्राथमिक स्वार्थमा पर्दैनन्; ती सबै प्राथमिकताका दोस्रो विषय हुन् । मूल कुरा के गर्दा आफ्नो स्वार्थ पूरा हुन्छ, त्यो हेर्ने हो….।”

वास्तवमा सहि रूपमा बुझ्ने हो भने भारत हाम्रो नजिकको छिमेकी भएपनि ऊ आफ्नो स्वार्थको लागि जुनसुकै हथकण्डा प्रयोग गर्न चाहन्छ भन्ने प्रमाण प्रयोगशालामा यत्रतत्र पढ्न पाइन्छ । नेपालमा भारतिय जासुसी संयन्त्रहरू इन्टेलिजेन्स व्युरो र “र” को नेपाल नीति बनाउन गरिएको चलखेल स्पष्टसँग विश्लेषण गरिएको पाइन्छ प्रयोगशालामा ।

अहिले भारतीय खुफिया एजेन्सी प्रमुख सामन्त कुभार गोयल, सेना प्रमुख मनोज मुकुन्द नरबाणे र विदेश सचिवहर्ष बर्धन श्रीङगलाको उच्चस्तरीय नेपाल भ्रमणले एक पल्ट फेरि शर्माले पुस्तकमा गरेको बिश्लेषणलाई ब्युत्याई दिएको छ। र, प्रस्तुत पुस्तक प्रयोगशालाको सान्दर्भिकता नेपालको राजनितिमा अझै बढेको छ।कुटनीतिक दायरा नाघेर नेपालको आर्थिक, सामाजिक, राजनैतिक, प्रशासनिक सबैजस्तो मामिलामा हात हाल्नाले भारतको पनि भलाई भईरहेको छनैन । भारतले नेपाली राजनीतिलाई माइक्रो–म्यानेज गर्न छाड्नुपर्ने, नत्र सोचेभन्दा ठिक विपरित परिणाम आई रहने भारतिय प्रतिवेदनको पनि चर्चा गरेका छन् लेखक शर्माले । आशा गरौँ प्रयोगशालाको प्रयोगबाट निस्केको परिणामले दिल्लीलाई केही पाठ सिकाउला कि ?

– संजयप्रसाद पौडेल

إرسال تعليق

Thank you for the feedback.

الانضمام إلى المحادثة