प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझावपत्र

बालेनलाई सुझाव पत्र: सुकुम्बासी व्यवस्थापनमा करुणा, तयारी र विकल्पको आवश्यकता, साथै हतारभन्दा दीर्घकालीन प्रणाली निर्माणमा जोड।

प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझावपत्र।

सम्माननिय प्रधानमन्त्री,

बालेन्द्र शाह ज्यू,

भदौ २३ को साँझ राज्यको गोलीबाट १९ जना आमाले आफ्ना सन्तान गुमाए। त्यो दृश्यले तर्क, बहस, राजनीति र विश्लेषण सबैलाई ओझेल पार्दै सिधै आमाको मुटुमा चोट पुर्‍यायो। कसले लग्यो, किन लग्यो भन्ने बहसभन्दा पनि त्यो रातो चित्रले जनमानसमा गहिरो असर गर्‍यो, जसको प्रभाव चुनावसम्म देखियो। कहिलेकाहीँ यस्ता कारुणिक दृश्यहरू यति शक्तिशाली हुन्छन् कि तिनले सबै तर्कलाई निष्प्रभावी बनाइदिन्छन्।

तपाईंको सरकारको सुरुआती गति, कार्यशैली र नीयतप्रति धेरैको विश्वास छ। छोटो समयमा मन्त्रिपरिषद् गठन, कार्ययोजना, संवाद र सक्रियता सकारात्मक छन्। तर केही निर्णयहरू हतारमा, पर्याप्त तयारीबिना र विधि-पद्धतिसँग असन्तुलित देखिएका संकेत पनि छन्। अदालतका टिप्पणी, मन्त्री परिवर्तन, विद्यालय व्यवस्थापनमा देखिएको अन्योल; यी सबैले अझै परिपक्वता र दूरदृष्टिको खाँचो देखाउँछन्। तपाईंसँग समय पनि छ र स्थिरता पनि। त्यसैले खुद्रा कामभन्दा दीर्घकालीन प्रणाली निर्माणमा ध्यान दिनु आवश्यक छ।

यतिबेला विश्व र देश दुवै आर्थिक र सामाजिक संकटतिर उन्मुख छन्। महँगी, बेरोजगारी, खाद्य र ऊर्जा सुरक्षा, घट्दो आय। यी नै मुख्य चुनौती हुन्। यस्तो समयमा बहस र प्राथमिकता पनि यिनै विषयमा केन्द्रित हुनुपर्छ। तर सुकुम्बासी बस्ती खाली गर्ने जस्ता संवेदनशील कदमले यदि मानवीय पक्ष बेवास्ता गर्‍यो भने, एउटा कारुणिक दृश्यले सरकारको सबै सकारात्मक प्रयासलाई छायाँमा पार्न सक्छ।

सुकुम्बासी समस्या जटिल छ र समाधान आवश्यक पनि छ। तर यसमा करुणा, विकल्प, उचित क्षतिपूर्ति र तयारी अनिवार्य छन्। डोजरमुनि रोइरहेका बालबालिका, घरविहीन भएका परिवार, वा अन्यायको अनुभूति दिने दृश्यहरू जनमानसमा गहिरो छाप छोड्छन्। गणितले तपाईंलाई जोगाए पनि यस्ता दृश्यहरूले धारणा बदल्न सक्छन्, र विरोधीले त्यसको भरपूर प्रयोग गर्नेछन्।

तपाईं काम गर्न आउनुभएको हो, विवाद आउनु स्वाभाविक हो। तर हरेक निर्णय सोचेर, पर्याप्त तयारीसहित, क्रिया–प्रतिक्रियाको आकलन गर्दै र सबैभन्दा कमजोर नागरिकलाई केन्द्रमा राखेर लिनु आवश्यक छ। करुणा, संवेदनशीलता र दीर्घदृष्टि देखिने गरी काम गर्नुहोस्। सुकुम्बासी व्यवस्थापन पनि सिर्जनशील, व्यवस्थित र उदाहरणीय बनोस्, ताकि सबैले समर्थन गर्न सकून्, नकि कसैले अमानवीयता देख्ने अवसर पाओस्।

धन्यवाद !!

Post a Comment

Thank you for the feedback.